इलाम : नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वच्छ खानेपानी, सिँचाइ तथा सरसफाईको क्षेत्रमा इलामको देउमाई नगरपालिकाले समावेशी र दिगो विकासलाई लक्षित गर्दै नयाँ योजनाहरू पारित गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि देउमाई नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरी सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार, नगरले खानेपानी सञ्जाल विस्तारदेखि लिएर फोहोरमैला व्यवस्थापनसम्मका बहुपक्षीय रणनीति अघि सारेको छ ।
नगरले स्वच्छ र पर्याप्त खानेपानीको प्रत्याभूति गराउने उद्देश्यले खानेपानी सञ्जाल विस्तार र धारा जडान कार्यलाई निरन्तरता दिने भएको छ । दीर्घकालीन समस्या समाधानका लागि बृहत देउमाई खानेपानी आयोजना अगाडि बढाइने नीति समेत अघि सारिएको छ ।
‘अब हामी टोल र वस्तीस्तरका साना खानेपानी आयोजनालाई नगर मातहत ल्याएर एकीकृत ढंगमा व्यवस्थापन गर्दै जान्छौं,’ नगर प्रमुख पोख्रेलले बताए । साथै, खानेपानी, सरसफाई तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ ।
कृषि उत्पादनमा सुधार ल्याउन सिँचाइ सुविधाको पहुँच विस्तार गर्ने कार्यक्रम पनि नगरले अघि सारेको छ । नगरको योजनाले उत्पादनमुखी कृषिलाई सघाउन दीर्घकालीन सिँचाइ पूर्वाधारमा लगानी गर्ने संकेत दिएको छ ।
शहरको स्वच्छता र वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै फोहोरमैला व्यवस्थापनमा प्रभावकारी नीति लागू गरिने उल्लेख छ । बढ्दो शहरीकरणका कारण बढिरहेको फोहोर व्यवस्थापन गर्न वडास्तरीय समन्वयमा सङ्कलन केन्द्र स्थापना गर्ने नीति तयार पारिएको छ ।
‘सुन्दर शहर, हराभरा नगर’ अभियान अन्तर्गत सार्वजनिक स्थलहरूमा डस्टबिनको व्यवस्था र पुष्परोपण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ, जसले वातावरणीय सौन्दर्य बढाउनुका साथै स्वच्छताप्रतिको जनचेतनामा पनि योगदान पुर्याउने विश्वास नगरले लिएको छ ।
देउमाई नगरपालिकाले प्रस्तुत गरेका नीतिले नागरिकको स्वास्थ्य, कृषि उत्पादन र वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :





















































