झापामा रुखमा बाँधिएका वृद्धको मृत्यु, चार जना पक्राउ

  नयाँ बुलन्द
294 Shares

इलाम :  झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरेर छिमेकीको घर पुगेका एक वृद्धलाई रातभरि रुखमा बाँधेर राख्दा ज्यान गएको छ। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत्यु हुने व्यक्ति ६० वर्षीय जतन सोरेन हुन्। प्रहरीले दिएको जानकारी अनुसार, मंगलबार राति करिब १०:३० बजे उनी मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घर पुगेका थिए। सो क्रममा होहल्ला गरेपछि टुडू र केही स्थानीयले उनलाई घर नजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। बुधबार बिहान करिब ४ बजे उनलाई मृत अवस्थामा फेला पारिएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडू रहेका छन्। उनीहरू सबै झापा गाउँपालिका–१, लसुनाका बासिन्दा हुन्। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ। साथै, घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा खटाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार