बैरागी काइँलाको ८७ औं जन्मोत्सवका अवसरमा जन्मघरमा विविध कार्यक्रम गरिने

  युद्धबहादुर बोहोरा
364 Shares

 

पाँचथर :  नेपाली साहित्यका ख्यातिप्राप्त कवि बैरागी काइँलाको ८७ औं जन्मोत्सव साउन २५ गते आइतबार मनाइने भएको छ। तेस्रो आयामका प्रवर्तक तथा मुन्धुमविद् काइँला (तिल बिक्रम नेम्वाङ) को जन्मोत्सवको अवसरमा उनको जन्मस्थान फाल्गुनन्द गाउँपालिका–३ ,पौवासारतापमा विशेष समारोहसहित कार्यक्रमको आयोजना गरिने छ।

फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानको आयोजनामा हुन गइरहेको कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे प्रमुख अतिथि र उपाध्यक्ष ठाकुरसिं नेम्वाङ विशेष अतिथिको रूपमा सहभागी हुने छन्। कार्यक्रम अन्तर्गत बैरागी काइँलाको जन्मघर सरसफाइ, कृतित्व र व्यक्तित्वमाथि विमर्श, साहित्यिक रचना वाचनजस्ता विविध कार्यक्रमहरू समावेश गरिने छन्।

संस्थाका अनुसार, बैरागी काइँलाको योगदान नेपाली साहित्य, लिम्बू संस्कृति, मुन्धुम अध्ययन तथा समकालीन बौद्धिक विमर्शमा गहिरो छ। यस प्रकारको कार्यक्रममा उहाँप्रति कृतज्ञता प्रकट गर्नुका साथै नयाँ पुस्तामा चेतना र प्रेरणा फैलाउने विश्वास गरिएको छ।

फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानले यसअघि पनि बैरागी काइँला काव्यपाठ प्रतियोगिता, लिम्बू मुन्धुम अध्ययन गोष्ठी, स्थानीय संस्कृति संरक्षणसम्बन्धी कार्यशाला, युवा प्रतिभा सम्मानजस्ता विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ। संस्थाले साहित्य, संस्कृति र इतिहासमा चासो राख्ने सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार