प्रधानमन्त्री केपी शर्मा ओलीको चासोपछि ‘रोङ ब्रान्ड’ले पायाे देशव्यापी चर्चा

  नयाँ बुलन्द
140 Shares

इलाम : पूर्वी नेपालस्थित इलामको रोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई ‘रोङ ब्रान्ड’ मार्फत बजारमा ल्याएपछि यसको लोकप्रियता देश–विदेशमा फैलिएको छ। कृषिमा आधारित अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यसहित गाउँपालिकाले स्थानीय स्रोत र श्रमको प्रयोग गर्दै उत्पादकमुखी अभियान अघि बढाएको हो।

गाउँपालिकाले किसानबाट उत्पादित बेसार, सिस्नु, गुन्द्रुक, करेलाको सुकुटी, मह, अचार, पानी लगायतका वस्तुहरू प्रशोधन गरी ‘रोङ ब्रान्ड’ नाममा व्यावसायिक रूपमा बजारमा पठाएको हो। यसका लागि किसानलाई तालिम, अनुदान, प्रविधि र बजार व्यवस्थापनमा सहयोग पुर्‍याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए।

अध्यक्ष स्याङ्बोका अनुसार, “गुन्द्रुक र महको बजार माग उच्च छ तर माग अनुसार आपूर्ति गर्न गाह्रो भएको छ। ‘रोङ मह सधैं र सबै ठाउँमा पाइँदैन’ भन्ने नारामै हामीले विशेषता बनाएका छौं।”

प्रधानमन्त्रीको चासोपछि ‘रोङ ब्रान्ड’ले पाएको देशव्यापी चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली इलाम भ्रमणको क्रममा रोङ गाउँपालिकाको ‘रोङ ब्रान्ड’ अवलोकन गरी विभिन्न सार्वजनिक कार्यक्रममा यसको प्रशंसा गरेपछि यो ब्रान्ड थप चर्चामा आएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए।

कोलकाताकी उपभोक्ता सोबीता रोए चौधरीका अनुसार, रोङ ब्रान्डका उत्पादनहरू विदेशमा समेत पुग्न थालेपछि “रोङ के हो र कहाँ पर्छ?” भन्ने जिज्ञासा बढेको छ।

स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणबाट स्वरोजगार र रोजगार सिर्जना हुनुका साथै गाउँपालिकाको समग्र पहिचान निर्माणमा सहयोग पुगेको अध्यक्ष स्याङ्बोले बताए । कृषि, वन, पर्यटन र पूर्वाधारलाई विकासको मुख्य आधार मानेर रोङले कृषि पर्यटन प्रवर्द्धनमा पनि विशेष ध्यान दिइरहेको छ।

स्थानीय खेती प्रणालीलाई थप व्यवस्थित बनाउन रोङ गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको छ। हालसम्म १२१ जना किसान ‘गुरु किसान’ घोषित भएका छन्, जसले अरूलाई तालिम र प्रेरणा दिनेछन्।

भविष्यमा मह बैंक स्थापना, बालीको रोपाइँदेखि प्रशोधनसम्मको भिडियो सामग्री निर्माण, गुणस्तर परीक्षण प्रयोगशाला निर्माण, र ‘पानीको पुनः प्रयोग’ प्रविधिमार्फत जलवायु अनुकूल खेती प्रणालीलाई प्रोत्साहन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

स्थानीय उत्पादनलाई ब्रान्डिङ र बजारीकरणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रोङ गाउँपालिकाको प्रयासले स्थानीय अर्थतन्त्र सशक्त बनाउने मात्रै होइन, देशका अन्य पालिकालाई पनि उत्पादनमुखी अभियानमा लाग्न प्रेरणा दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार