सुधारको मञ्च भनेर चिनिएको इलाम कारागार आफैँ समस्यामा

  नयाँ बुलन्द
539 Shares

इलाम : सुधारको मञ्च भनेर चिनिएको इलाम कारागार आजभोलि आफैँ समस्यामा परेको छ । क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दीको चापले गर्दा सुधारगृहको सपना यहीँका केदीहरूको बाध्यतामा हराउँदै गएको छ ।

इलाम सदरमुकामस्थित यो कारागारमा हाल ३२१ जना कैदीबन्दी राखिएका छन् । यसको संरचनागत क्षमता १०० जना पुरुष र २५ जना महिला गरी जम्मा १२५ जनाको मात्र हो । तर, अहिले यहाँ ३०६ जना पुरुष र १५ जना महिला कैदीबन्दी राखिएका छन् ।क्षमताभन्दा बढी कैदीबन्दीलाई राख्नुपर्दा स्वभावित रूपमा विभिन्न समस्या झेल्नुपरेको कारागार प्रमुख मधुर नेपालीले बताए । ‘यहाँको संरचनागत क्षमता १२५ जनाको मात्र हो, तर अहिले ३२१ जनालाई राख्नुपरेको छ’, नेपालीले भने, ‘कैदीबन्दीहरूलाई विशेषगरी बिहान शौचालय जान र राती सुत्नका लागि समस्या हुने गरेको छ ।’

सरदर ९ जना कैदीबन्दीका लागि एउटा शौचालय प्रयोग हुने गरी बनाइएको भए पनि कैदीबन्दीको अत्यधिक चापका काण २५ जना कैदीबन्दीले एउटा शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।पछिल्लो समय पाँचथरमा कारागार निर्माण भइरहेकाले त्यहाँका थुनुवा तथा कैदीबन्दीसमेत इलाम कारागार पठाएका छन् । यसले कैदीबन्दीको चाप झनै बढाएको हो । इलामसँगै छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापालगायत जिल्लाबाटसमेत समेत कैदीबन्दी स्थानान्तरण गरेर पठाउने क्रम यथावत रहेको प्रमुख नेपालीको भनाइ छ ।

‘अदालतले पठाएपछि हामीले त राख्नैपर्छ’, प्रुमख नेपालीले भने, ‘तर यहाँको अवस्था हेर्ने हो भने क्षमताभन्दा बढी हुँदा मापदण्डअनुसारको सेवा दिन सकिएको छैन ।’इलाम कारागारमा ३२१ कैदीबन्दीमध्ये २५४ जना सजाय काट्दै गरेका कैदी हुन् भने ६७ जना अदालतको फैसला पर्खिरहेका थुनुवा रहेका छन् । जसमध्ये १६ जना ६० वर्ष माथिका ज्येष्ठ नागरिकसमेत रहेका छन् ।

यहाँ सबैभन्दा बढी जबरजस्ती करणी मुद्दामा दोषी ठहरिएका कैदी छन् । त्यसपछि कर्तव्य जान र लागूऔषधसम्बन्धी मुद्दा प्रुमख रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग, सवारी ज्यान, महिला हिंसा, हातहतियार तथा खरखजाना, आगजनी, चोरी तस्करी, ठगीलगायत मुद्दामा कैदीले सजाय भुक्तान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार