इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

इलाम : आर्थिक वर्ष २०८१÷०८२ मा इलामका १०२ जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मंगलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट १०२ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवं जिल्ला प्रशासन कार्यालयबाट ३ र इलाका प्रशासन कार्यालयबाट २ जनालाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको प्रजिअ नेपालले बताइन् । आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको उनको भनाइ छ ।

आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानहरूलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको उनले बताइन् । बुबाको पहिचान नभएको, बुबा पत्ता नलागेको, आमा मात्रै भएको सन्तानहरूको हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायतको कागजपत्रको आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको उनले बताइन् ।

बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोही बमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ नेपालले बताइन् ।‘बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनले नै व्यवस्था गरेको छ’, प्रजिअ नेपालले भनिन्, ‘तर कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको हुनाले त्यस्तालाई भने नागरिकता वितरण गर्न सकिएको छैन ।’

नागरिकताकै अभावमा अध्ययन गर्न, जागिर खान तथा विभिन्न सेवा लिनबाट वञ्चित व्यक्तिहरूले नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा पहुँच पुगेको उनको भनाइ छ ।

अवधिमा ३ वटै कार्यालयमार्फत इलामका ६ हजार ४६१ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् । ४० जनाले वैवाहिक अंगीकृत र ४ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।

सो अवधिमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने २ जनाको नागरिकता रद्द गरेको छ । त्यस्तै १४२ जनालाई नाबालक प्रमाणपत्र जारी गरेको छ । त्यसैगरी ६ हजार १३७ वटा संसोधनरहित र ४ हजार ३३२ वटा संशोधनसहित नागरिकताको प्रतिलिपि जारी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै १ वर्षको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि इलामका १५ हजार २९९ जनाको विवरण संकलन गरेको छ भने ७ हजार २३९ जनालाई परिचयपत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयसहित ३ वटै कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार