इलामको सन्दकपुर गाउँपालिकाद्वारा विभिन्न व्यक्ति र संस्थालाई सम्मान

इलाम :  इलामको सन्दकपुर गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ ।

बिहीबार सन्दकपुर-३ देउरालीस्थित समिच्योङ भवनमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा, चौमासिक सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/८२ को नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिकीकरण कार्यक्रममा सम्मान गरेको हो ।

सो अवसरमा सन्दकपुर-१ निवासी तथा भारतीय सेनामा कार्यरत राजेन्द्र सुनुवार मुखियाले सगरमाथा आरोहण गरेर गाउँको गौरव बढाएको भन्दै उनलाई विशेष सम्मान प्रदान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) र आधारभूत तहका उत्कृष्ट विद्यार्थीहरू तथा विद्यालयहरूलाई समेत सम्मान गरिएको छ ।

आधारभूत तहमा श्याम्बल माध्यमिक विद्यालयबाट ३.८१ जीपीए ल्याउने इशा गुरुङ र सेनु राई, तथा माइपोखरी एकाडेमीबाट ३.७४ जीपीए प्राप्त गर्ने सिद्धार्थ बुर्जा मगरलाई सम्मान गरिएको छ ।

एसईईतर्फ सरस्वती माध्यमिक विद्यालयकी सुलोचना गड्तौला (३.७० जीपीए) र सम्पन्न सापकोटा (३.५५ जीपीए) लाई सम्मान प्रदान गरिएको छ ।

उनीहरूलाई प्रतिव्यक्ति नगद १६ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, उत्कृष्ट विद्यालयको रुपमा सरस्वती माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट राजस्व संकलकको रुपमा कालापोखरीका पेम्बा शेर्पालाई सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री एवम् प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेलीलगायतले दोसल्ला, सम्मानपत्र र नगद पुसरस्कारसहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार