
इलाम : इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट साउन १९ गते सार्वजनिकीकरण कार्यक्रम गरिने भएको छ ।
नगरपालिकाको आयोजनमा फिक्कल माध्यमिक विद्यालयको प्राङ्गडमा कार्यक्रम आयोजना गरी स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट र्वजनिकीकरण गर्ने तयारी गरिएको हो ।
नगरले बर्सेनि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रमको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रत्येक वर्ष नगरले नगर क्षेत्रमा बिभिन्न बिधामा उत्कृष्ठ काम गर्ने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ ।
यस वर्षको सार्वजनिकीकरण कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नगरपालिका स्रोतले जनाएको छ ।
कार्यक्रमको अवसरमा विभिन्न सांस्कृति कार्यक्रम समेत सम्पन्न हुनेछन ।
नगरपालिकाले सबै सरोकारवाला र नगरबासीलाई कार्यक्रममा उपस्थित हुन अनुरोध समेत गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले गत असार १० गते एक अर्ब ४० करोडको बजेट प्रस्तुत गरी पारित गरेको थियो ।






















































