
इलामः फाकफोकथुम गाउँपालिका–१ पचेवाको शिर पाँच पाण्डव नजिकै मंगलबार बिहान पहिरोमा फसेका १८ वटा भैंसीका पाडापाडी सकुशल उद्धार गरिएको छ।

घुर्बिसे पञ्चमी हटियामा बिक्रीका लागि लैजाँदै गर्दा बिहान ७ बजेतिर पाँच पाण्डवबाट करिब तीन सय मिटर माथि बाटोमा अचानक लेदोसहित खोल्सामा पहिरो खस्दा पाडापाडी फसेका थिए।
पाडापाडी धनी जगत राईसहित डिल्ल बहादुर नेम्वाङ, महेन्द्र कुमार नेम्वाङ, खम्बसिंह चेम्जोङ, लाल बहादुर चेम्जोङ, मोहन बहादुर राई र महेन्द्रहाङ नेम्वाङले गाउँबाट किनेर हटियातर्फ लैजाँदै गरेका थिए।

घटनाको जानकारी पाएपछि वडा नम्बर १ का पूर्व वडाध्यक्ष टेकवीर नेम्बाले प्रहरीलाई खबर गरेका थिए। तत्पश्चात आमचोक प्रहरी चौकीका सुरक्षाकर्मी नवराज पौडेलको टोलीको सहकार्यमा लामो प्रयासपछि सबै पाडापाडी सकुशल उद्धार गरिएको पूर्ववडाध्यक्ष नेम्वाङले जानकारी दिए ।उद्धार गरिएका पाडापाडीको अनुमानित मूल्य करिब छ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ।

निर्माणाधीन राँके–रवि–भेडेटार सडकखण्डबाट बगेको माटोले पहिरोको जोखिम थप बढेको स्थानीयको भनाइ छ। यही बाटो हुँदै घुर्बिसे पञ्चमीबाट पचेवा, ठिंगेपुर हुँदै फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक जाने गरिन्छ।

विद्यार्थी, कर्मचारी र स्थानीय बासिन्दाले दैनिक प्रयोग गर्ने यो बाटो पहिरोले जोखिमपूर्ण बनेको हुँदा तत्कालीन सुधार र स्थायी समाधानको मागसमेत उठ्न थालेको छ।






















































