
घुर्बिसे पञ्चमी : फाल्गुनन्द गाउँपालिका (पाँचथर) र फाकफोकथुम गाउँपालिका (इलाम) को संयुक्त लगानीमा घुर्बिसे पञ्चमी बजारमा डष्टवीन व्यवस्थापन गरिएको छ। सरसफाइ प्रवर्द्धन र वातावरण संरक्षणको उद्देश्यले बिहीबार विशेष कार्यक्रमसहित बजारमा डष्टवीन राखिएको हो।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक र वडा नं. १ का अध्यक्ष कर्णबहादुर लिम्बु लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।बजार व्यवस्थापन समिति अध्यक्ष देवीचन्द्र आङ्देम्बे र खानेपानी समिति अध्यक्ष कृष्णबहादुर सम्बाहाम्फे समेतको सहभागितामा बजार क्षेत्रमा डष्टवीनहरू हस्तान्तरण गरिएको हो।

१० स्थानमा राखिएका डष्टवीनमा तीन भागमा फोहोर छुट्याउने व्यवस्था मिलाइएको छ । डष्टवीनहरू कुहिने, नकुहिने र शिशाजन्य फोहोर छुट्याएर राख्न मिल्ने किसिमका छन्। ती डष्टवीन बजार क्षेत्रका १० वटा सार्वजनिक स्थलमा राखिएको छ। प्रत्येक महिनाको १३ र २९ गते यहाँ हाटबजार लाग्ने भएकाले ती दिनहरूमा बढी फोहोर उत्पन्न हुने र त्यसलाई व्यवस्थापन गर्न सहज होस् भन्ने हेतुले डष्टवीन राखिएको जनाइएको छ ।दुवै पालिकाले मिलेर यस बजारको फोहोरमैला व्यवस्थापन गर्न अस्थायी डम्पिङ साइट निर्माणको प्रक्रिया पनि सुरु गरिरहेका छन्। अब घरघरमा जम्मा भएको फोहोरलाई सुरक्षित राखेर पालिकाबाट संकलन गरी डम्पिङ साइटमा लैजाने प्रबन्ध मिलाइने भएको छ।
बजार क्षेत्रबाट बग्ने फोहोरले दुवै पालिका नजिकका खेतीयोग्य जमिन प्रदूषित बनाएको भन्दै किसानहरूले गुनासो गर्दै आएका छन्। बजार क्षेत्रमा व्यवस्थापन नहुँदा सुन्दरता नै बिग्रिएको बजारबासी बताउँछन्।कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले दुई पालिकाबीचको सहकार्यलाई उदाहरणीय भन्दै सरसफाइ अभियान थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। फोहोरमैला व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन घुर्बिसे पञ्चमी बजारबासी बढी जिम्मेवारी भइ काम गर्न दुवै पालिकाले सुझावसहित अनुरोध गरेको छ ।






















































