इलाम जिल्ला अदालतको कार्यसम्पादनमा सुधार

  नयाँ बुलन्द
14 Shares

इलाम :इलाम जिल्ला अदालतले मुद्दा फर्छ्यौटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले अदातलको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ जसले गर्दा मुद्दा फैसलाको दर बर्सेनि वद्धि भएको छ । समयमै न्याय निरुपण हुन थालेपछि न्यायका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।

इलाम जिल्ला अदालतले तीन वर्य यताकै सबैभन्दा बढी मुद्दा फैसला गरी तीन सय ३८ को सङ्ख्यामा मात्र जिल्लामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नयाँ तथा पुरानो गरेर एक हजार एक सय ९३ मुद्दा रहेकोमा त्यसमध्ये आठ सय ५५ मुद्दाको फछ्यौट भएको सूचना अधिकारी अर्जुन राईले जानकारी दिए । जुन कूल मुद्दाको ७१.६७ प्रतिशत हो ।

सूचना अधिकारी राईका अनुसार यस अदालतमा १८ महिनादेखि २ वर्षभित्रका मुद्दाहरु विगताका वर्षहरुमा रहने भएपनि आर्थिक वर्ष ०८१/०८२ मा शुन्य बनाइएको छ । यस्तै २ वर्ष नाघेका मुद्दाहरु पछिल्लो चार वर्षदेखि निरन्तर शुन्य रहेका छन् । अदालतमा ढिलो न्याय पाइन्छ भन्ने मान्यतालाई घटाउँदै लगिएको देखिएको छ ।

आर्थिक वर्ष ०७९/०८१ देखि हालसम्म हेर्दा प्रत्येक वर्ष मुद्दा सङ्ख्या र फर्छ्यौट प्रतिशत दुवैमा वृद्धि भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ११ मुद्दामध्ये सात सय १३ मुद्दा फैसला भएको थियो, जुन ६४.१७ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा एक हजार एक सय ३९ मुद्दामध्ये सात सय ६९ मुद्दा फैसला भएको थियो, जुन ६७.५१ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार