
काठमाडौं : नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो ।
एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए ।
एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरुले बताएका छन् ।
राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको नेताहरुले बताएका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।
सुरुमा नेकपा एमालेमा जान खोजेका बामदेव पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए ।
























































