
इलाम : इलामको माई नगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहले १६ घर उपभोक्तालाई बाख्रा र बङ्गुरको पाठी वितरण गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा आठ घरलाई बोयर बाख्रा र आठ घरलाई बङ्गुरको पाठी वितरण गरेको समूहका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए । समूहको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पाठा वितरण गरेको हो ।
पाठी पाएका उपभोक्ताहरुले अर्को साल एक/एक वटा पाठी समूहलाई नै फिर्ता गर्ने गरी दिइएको अध्यक्ष येक्तेनले बताए ।
यसैबीच सब डिभिजन वन कार्यालय माई नगरपालिकाबाट उपलब्ध विभिन्न जातका एक हजार विरुवा वितरण गरेको छ ।
वडा सदस्य विनोद साउदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
समूहले गुनमुने आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै २०८१ को एसईई उत्तीर्ण समूहका परिवारबाट २ जनालाई नगद पाँच/पाँच हजारसहित सम्मान गरेको छ ।
बोरुङ सामुदायिक स्वास्थ्य केन्द्रलाई समेत ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको अध्यक्ष येक्तेनले जानकारी दिए ।























































