
इलाम : जिल्ला प्रशासन कार्यालय इलामले नागरिकहरूलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्युतीय टोकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रविधि–मैत्री कदमले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने शाखाहरूमा हुने भीडभाडलाई उल्लेखनीय रूपमा कम गरी व्यवस्थित र पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ ।
यस प्रकारको प्रणालीको यो कार्यालयमा पहिलो प्रयोग हो, जसले सरकारी सेवा प्रवाहमा नयाँ आयाम थपेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएकाे जानकारी अनुसार यो प्रणाली मुख्यतया नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा लागू गरिएको छ ।
यी शाखाहरूमा सेवाग्राहीको उपस्थिति सबैभन्दा बढी हुने भएकाले उनीहरूलाई पालो कुर्न सहज होस् र कसैलाई पनि कुनै प्रकारको भेदभावको अनुभूति नहोस् भन्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो । विगतमा लामो लाइनमा घन्टौँ कुर्नुपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिलाउनु यस प्रणालीको मुख्य ध्येय हो ।
प्रजिअ नेपालले भनिन्, “हामीले सेवाग्राहीको समयको महत्त्वलाई बुझेका छौँ । यो प्रणालीले उहाँहरूलाई सहजै टोकन लिएर आफ्नो पालो प्राप्त गर्न मद्दत गर्छ, जसले गर्दा विगतको भन्दा सेवा अझै सहज हुनेछ ।” कार्यालयका अनुसार, यसले सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयको समग्र कार्यसम्पादनमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत हरिकुमार थापाका अनुसार जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक करिब ५० जनाको हाराहारीमा नागरिकता बनाउन आउँछन् भने राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन पनि उतिकै संख्यामा सेवाग्राहीहरू आउने गरेका छन । सेवाग्राहीलाई व्यवस्थित रूपमा सेवा प्रदान गर्न टोकन प्रणालीको आवश्यकता अपरिहार्य देखिएको थियो ।
थापाले भने, “टोकन प्रणालीले गर्दा अब सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन । यसले सेवा प्रवाहमा समेत पारदर्शिता ल्याएको छ भने यो प्रणालीले सेवाग्राहीको समयको सदुपयोगका साथै कार्यालयको आन्तरिक व्यवस्थापनलाई समेत सुदृढ बनाएको छ । ”
उता यो प्रणाली लागू भएपछि सेवाग्राहीहरूमा पनि ठूलो उत्साह देखिएको छ । इलाम चुलाचुलीका टंक बहादुर मगरले भने, “पहिले नागरिकता बनाउन आउँदा घन्टौँ लाइनमा बस्नुपथ्र्यो, कहिलेकाहीँ पालो नआएर फर्कनुपर्ने पनि हुन्थ्यो । अहिले टोकन लिएपछि ढुक्कले बस्न पाइयो, पालो आएपछि मात्रै गएर काम गर्न पाइयो, धेरै सजिलो भयो ।”
टंक बहादुरले मात्र नभएर धेरै सेवाग्राहीले यसले आफ्नो समयको बचत भएको र सेवा प्राप्त गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । इलाममा यस प्रकारको प्रणालीको प्रयोगले जिल्ला प्रशासनलाई आधुनिक, प्रविधि–मैत्री र जनमैत्री सेवा प्रदायक संस्थाका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ ।
यसले समग्र सरकारी सेवा प्रणालीलाई अझै प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ भने यो प्रविधिको प्रयोगले सरकारी सेवामा नागरिकको पहुँच अझ सहज बनाउने निश्चित छ ।






















































