काठमाडौं । प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ ।
उनको पत्र बिहीबार साँझ मात्रै वडाध्यक्षहरूलाई पुगेको छ । पत्र अगाडि नै नगर प्रहरीले वडाध्यक्षहरूलाई कार्यपालिकामा उपस्थित हुन मौखिक जानकारी गराएका थिए ।
महानगरको कार्यपालिका बैठक बस्न लामो छलफल भएको थियो । आन्तरिक कलह टुंगो नलाग्ने भएपछि बालेनले बाध्य भएर शुक्रबार २ बजे बस्ने निश्चित गरेका थिए । योसँगै सात महिना बढी नभएको कार्यपालिका भोलि हुनेछ ।
महानगरको कार्यपालिका बैठक १९४ दिनपछि हुन लागेको हो । पछिल्लो पटक पुस १४ गते महानगरको १६ औँ नगर सभा बसकेको थियो । त्यसअगाडि नै कार्यपालिका बैठक बसेको थियो । लामो समय बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले बालेनलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगरसभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठबाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
करले तोड्यो हठ, कल भयो कार्यपालिका
महानगरका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगै कार्यपालिका र नगर सभामा बस्न नसक्ने भन्दै हठ गरिरहेका थिए । त्यही कारण असार १० मा आउनुपर्ने बजेट रोकिएको थियो ।
‘भ्रष्टाचारको आशंका लागेको कर्मचारीसँग कसरी बसेर काम गर्ने’ भन्दै उनी एकोहोरो अडानमा थिए । तर असार मसान्तसम्म बजेट पास गर्न नसके कानुनी रूपमा महानगर बजेटशून्य (बजेट होलिडे) हुने भएकोले उनले कार्यपालिका बोलाएका हुन् । ‘अहिलेलाई कार्यपालिका कल भएको छ । मुख्य कुरा त्यही हो तर प्रमुख प्रशासकीय अधिकृतको विषयमा के हुन्छ भोलि मात्रै थाहा हुन्छ,’ २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनले बताए ।
जो भए पनि बैठक बोलाउने र जे हुन्छ कार्यपालिकामै हुन्छ भन्ने भएर बैठक बोलाउन लागिएको बालेन स्रोत बताउँछ । ‘नगर सभा र कार्यपालिकाको बैठक व्यवस्थापनका लागि उपप्रमुखसहित टोलीले जिम्मा लिने मेयरले भनेका छन् । यो बस्छ, बस्दैन भन्ने हामीले होइन । तर प्रमुख प्रशासकीय अधिकृत सँगै रहने कुरामा बालेनको अझै पनि विमति देखियो,’ बालेननिकट एक कर्मचारी भन्छन् ।
बालेनको सचिवालयले भने बैठक कल गरिसकेकाले भोलि (शुक्रबार) नै थाहा हुने बताउँदै आएको छ । ‘भोलि बैठकमै थाहा हुन्छ, मुख्य कुरा बजेट हो । बजेटका लागि कार्यपालिका बस्न लागेको हो । बाँकी कुरा बैठकबाटै थाहा हुन्छ,’ बालेनका सचिवालय सदस्य एक भन्छन् ।
उपप्रमुखको विफ्रिङ ‘गुरागाँई नै सदस्य सचिव’
वडाध्यक्षहरूलाई भने कार्यपालिकामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बस्छन् कि बस्दैनन् भन्ने छ ।
‘नेपाली कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेर भए पनि बजेट ल्याउने पक्षमा हुनुहुन्छ भने उपप्रमुखसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृतले नै बैठक चलाउने अडानमा अझै छन् । भोलि नै थाहा होला ? ’ महानगरका एक वडाध्यक्षले बताए ।
उनका अनुसार बालेनले प्रमुख प्रशासकीय अधिकृत अस्वीकार गर्ने हुँदा कार्यपालिकाको सदस्य सचिव को हुन्छ भन्ने टुंगो छैन । ‘त्यही प्रमुख प्रशासकीय अधिकृत हुने भए त यत्रो समय किन अल्झाउनु । फेरि प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्ने भए, पहिले किन नमानेको त भन्ने दुवै प्रश्न छ । यसको जवाफ भोलिको बैठकमा आउँछ,’ महानगरका एक वडाध्यक्षnलदे बताए ।
यसैबिच कार्यपालिकाबारे वडाध्यक्षहरूले जिज्ञासा राख्दा उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नै बैठक चलाउने बिफ्रिङ गरेकी छिन् । ‘उहाँले बैठक चल्छ, प्रमुख प्रशासकीय अधिकृतको विषयमा केही कुरा भएको छैन भन्नुभएको छ,’ ती वडाध्यक्षले रातोपाटीसँग भने ।
गुरागाईं भन्छन्- मेरो भोलि बिदा छैन
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने भोलि आफ्नो बिदा नरहेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘म बिदा बस्ने कुरा मलाई थाहा छैन, कार्यपालिकाबारे मैले पनि सुनेको हो । मलाई आधिकारिक जानकारी छैन,’ उनले भने ।
महानगरका एक उच्च तहका कर्मचारीका अनुसार गुरागाईं बिदामा बसे निमित्तको जिम्मेवारी कृषि तथा पशुपन्छी विभाग प्रमुख रहेका नुरनिधि न्यौपानेको हुन्छ । स्रोतका अनुसार न्यौपानेलाई अहिलेसम्म भोलिको कार्यपालिका बैठकमा सदस्य सचिवको भूमिका निर्वाह गर्नु कुनै खबर भएको छैन ।
‘कानुनी रूपमा गुरागाईं सर नै प्रमुख प्रशासकीय अधिकृत हुन् । नियमले उहाँलाई नै कार्यपालिका चलाउन भन्छ । त्यहीअनुसार कर्मचारीहरूले तयारी गरिरहेका छन्,’ ती कर्मचारीले भने ।
कर्मचारीबाटै ‘बजेट ड्राफ्ट’
कर्मचारीहरूले भने बजेटको तयारी गरिसकेका छन् । ‘विषयगत समितिबाट मस्यौदा तयारी भइसकेको छ । बजेटको सिलिङलगायत औपचारिकताका लागि कुरेको हो । कर्मचारीहरूले नयाँ कार्यक्रम, क्रमागत योजना, महानगर गौरवको योजना, स्वर्णिम योजनामा काम गरिसकेका छन्,’ मस्यौदामा सहभागी एक कर्मचारी भन्छन् । उनले जनप्रतिनिधिहरूले औपचारिकता पूरा गर्न कानुनी आवश्यकताको कारण बाँकी भएको भन्दै कार्यपालिका चल्नेबित्तिकै लगालग काम सकिने बताए ।
बजेट बाध्यता अनि बैठक
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होलिडे’ हुनेछ । कानुनी बाध्यताले गाजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउन लागेको महानगरका एक जनप्रतिनिधि बताउँछन् ।
महानगर स्रोत अनुसार भोली ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
कानुनी औपचारिकता पूरा गरे दुई बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ ।
























































