न्यूयोर्क । आदिवासी किरात समुदायको महत्वपूर्ण चाड सिसेक्पा तङनाम (साउने सक्रान्ती) अमेरिकामा भव्य रुपमा मनाउने तयारी गरिएको छ । न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा आगामी २० जुलाईमा मनाउन लागिएको सिसेक्पा तङनामको सम्पूर्ण तयारी पूरा भएको किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन पयाङ्गुले जानकारी दिनु भयो ।
चुम्लुङ अमेरिकाले वर्षेनी आयोजना गर्दै आएको सिसेक्पा तङ्नाममा सहभागी हुन सम्पूर्ण अमेरिकाबासी लिम्बू समुदायमा चुम्लुङले आह्वान गरेको छ ।
सिसेक्पा तङ्नामको अवसरमा यस वर्ष पनि मौलिक सांस्कृतिक कार्यक्रमसहित परम्परागत खेलकुद प्रतियोगिताहरु रहने किरात याक्थुङ चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिपक थेवेले जानकारी दिनु भयो ।
कार्यक्रमको अवसरमा यालाङ (धान नाच), के लाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), डोरी तान लगायतका कार्यक्रम आयोजना गरिने छ । साथै सोही अवसरमा लिम्बू जातिसँग आधारित भेषभूषा प्रदर्शनी समेत आयोजना गरिने छ । साथै लिम्बू समुदायको परम्परागत ज्ञान र सीप हस्तान्तरणका लागि बालबालिका लक्षित कार्यक्रम समेत आयोजना गरिने चुम्लुङ अमेरिकाले जनाएको छ ॥
























































