
इलाम : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ हाल प्रतिनिधित्वको अभावमा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ। वडाध्यक्ष सुधार केन्द्रमा भर्ना भएका छन् भने दुई जना वडा सदस्य विदेशिएपछि सिंगो वडाको प्रशासनिक जिम्मेवारी केवल दुई जना जनप्रतिनिधीमाथि परेको छ।
प्राप्त जानकारी अनुसार वडाध्यक्ष हरिप्रसाद चम्लागाईलाई अत्यधिक मादक पदार्थ सेवनका कारण कमल गाउँपालिकास्थित एक सुधार केन्द्रमा भर्ना गरिएको हो। स्थानीयबासीका अनुसार यसअघि पनि चम्लागाईलाई पटकपटक सुधार केन्द्र भर्ना गरिँदै आएको थियो।
त्यस्तै, वडा सदस्यद्वय केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका छन्। यसरी वडाध्यक्ष अनुपस्थित हुँदा र अन्य दुई सदस्य विदेशिएपछि कार्यवाहक वडाध्यक्ष संगीता शिवा र अर्की सदस्य सल्पना राजवंशीले मात्र वडाको सम्पूर्ण कार्यभार सम्हालिरहेका छन्।
स्थानीयवासीले जनप्रतिनिधिको यस्तो अनुपस्थितिलाई लिएर गम्भीर असन्तुष्टि जनाएका छन्। “भौगोलिक हिसाबले ठूलो वडा, तर प्रतिनिधि दुई जना मात्र हुँदा नागरिक सेवामा ढिलासुस्ती र बेवास्ता भइरहेको छ,” एक स्थानीयबासीले बताए।
स्थानीय सरकारले सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउने दिशामा चासो देखाउनुपर्ने आवाज चुलिएको छ। वडाबासीले वडा नम्बर ९ मा देखिएको नेतृत्वको संकट समाधानका लागि नगरपालिका र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।-परिवेश मिडिया






















































