वर्षायाममा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग इलाम ट्राफिक प्रहरीको आग्रह

  नयाँ बुलन्द
966 Shares

 

इलाम : जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले वर्षायाममा बाढी र पहिरोका कारण सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विभिन्न सरोकारवाला संघसंस्था, निकाय, यातायात व्यवसायी र यातायात मजदुर संगठनका प्रतिनिधिसँग सहकार्यका लागि आग्रह गरेको छ।
कार्यालयले आईतवार इलाम सदरमुकाममा छलफल कार्यक्रमको आयोजना गरि  मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा बाढी, पहिरो र सडक भासिने जस्ता घटना बढ्न सक्ने र त्यसले सडक दुर्घटनाको जोखिम उच्च बनाउने बिसयमा सबै चनाखो बन्नुपर्ने बताएको छ । यस प्रकारका दुर्घटनाले ठूलो मानवीय क्षति र भौतिक क्षतिका साथै जनजीवनमा समेत असर पार्ने भन्दै पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा जोड दिईएको छ।

ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख लिलानाथ न्यौपानेले यस विषम परिस्थितिमा सम्भावित दुर्घटनाबाट बच्न वा त्यसको प्रभावलाई कम गर्नका लागि सबै सरोकारवालाबीच आवश्यक छलफल, समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन। विशेषगरी, सडकको नियमित मर्मतसम्भार, जोखिमयुक्त क्षेत्रको पहिचान तथा मर्मत, सवारीसाधनको यान्त्रिक अवस्थाको जाँच, चालकहरूलाई सुरक्षित यात्राका लागि सचेतना र यात्रुहरूलाई पनि जोखिमबारे जानकारी गराउनु पर्नेमा जोड दिए । उनले खोलामा लगाईएको पुलको भारबहन क्षमता र खोलामा लगाईएका डाईभरशनहरु यो बर्खाको समयमा निकै महत्त्वपूर्ण रहेको भन्दै क्षमता अनुसारका सवारी मात्र सन्चालन गर्नुपर्ने कुरालाई समेत जोड दिएका छन ।

यस्तै कार्यालयले यस अभियानमा साथ दिन यातायात व्यवसायीहरूलाई आफ्ना सवारीसाधनको नियमित जाँच गर्न, चालकहरूलाई मौसम र सडकको अवस्था हेरी सुरक्षित गतिमा सवारी चलाउन प्रेरित गर्न र यातायात मजदुर संगठनहरूलाई आफ्ना सदस्यहरूबीच सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सबैको सामूहिक प्रयासबाट मात्रै वर्षायाममा हुन सक्ने सडक दुर्घटनालाई न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ। उता कार्यक्रममा सहभागीहरुले समेत सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाउने दुर्घटना हुन नदिन सबै चनाखो बन्नुपर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार