पाँचथर : फाल्गुनन्द गाउँपालिका–३ मा अवस्थित श्री सारताप मनरत्न माध्यमिक विद्यालयमा खेलमैदान निर्माणका लागि हालसम्म १० लाख रुपैयाँभन्दा बढी नगद र आधा तोला सुन सहयोग संकलन गरिएको छ। विद्यालयले लामो समयदेखि खेलमैदान अभाव झेल्दै आएकोमा हाल यसको निर्माणको प्रक्रिया अघि बढाइएको हो।
विद्यालयका सहायक प्रधानाध्यापक पुन्य खतिवडाका अनुसार, सहयोग संकलन अभियानअन्तर्गत हालसम्म रु. १० लाख ३४ हजार १७४ र साथमा करिब रु. ९५ हजार बराबरको आधा तोला सुन प्राप्त भएको छ। यस अभियानमा विभिन्न दाताहरूले एक लाख रुपैयाँसम्म सहयोग गरेका छन्। विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को निर्णय अनुसार, आर्थिक सहयोगलाई निरन्तरता दिँदै खेल मैदान निर्माण कार्य सुरु गरिनेछ।
इतिहास, पूर्वाधार र शैक्षिक उपलब्धि
शिक्षाको क्षेत्रमा गहिरो इतिहास बोकेको यो विद्यालय २००६ सालमा “मनरत्न मिडिल स्कुल” को रूपमा स्थापना भएको थियो। पछि माध्यमिक तहको स्वीकृति पाएपछि यसको नाम “श्री सारताप माध्यमिक विद्यालय” राखिएको हो।
हाल विद्यालयमा कक्षा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन व्यवस्था छ। २३ जना शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा करिब २५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, स्वच्छ खानेपानी, शौचालय लगायतका आधारभूत सुविधा उपलब्ध छन्।
शैक्षिक दृष्टिले समेत विद्यालयले निरन्तर प्रगति गर्दै आएको छ। गत वर्ष कक्षा १२ की एक छात्राले पालिकाभरि सर्वोत्कृष्ट जिपिए ल्याएर पुरस्कार प्राप्त गरिन्। यसै वर्षको एसईई परीक्षामा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
खेलमैदान निर्माणको प्रयास
खेलमैदानको अभावका कारण विद्यार्थीहरू शारीरिक गतिविधिमा सीमित थिए। यो समस्या समाधान गर्न विद्यालयले विभिन्न दाताहरूको साथमा आर्थिक संकलनको अभियान थालेको हो।
प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. १० लाख बजेट प्राप्त भए पनि मैदान निर्माण गर्न चाहिने स्थानको भौगोलिक बनावट जटिल भएकाले थप खर्च लाग्ने देखिएको छ।
निर्माणका लागि आवश्यक जग्गा डबल सुब्बा परिवार (स्व. खड्गबहादुर नेम्बाङ परिवार) बाट निःशुल्क उपलब्ध गराइएको हो। खेलमैदानको सिलान्यास २०८१ साल चैत २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम पूर्व कुलपति बैरागी काइला द्वारा गरिएको थियो।
विद्यालयले सस्तो मूल्यमा निर्माण सामग्री (जस्तै ढुंगा आदि) आपूर्ति गर्न इच्छुक व्यक्तिहरूबाट प्रस्ताव समेत माग गरिसकेको छ।
समुदायको सक्रिय सहकार्य
विद्यालय, शिक्षक, अभिभावक, दाताहरू तथा स्थानिय समुदायको सहकार्यमा खेलमैदान निर्माण कार्य सफल हुनेमा विद्यालय पक्ष आशावादी छ। सबैको योगदान र समर्थनप्रति विद्यालयले हार्दिक धन्यवाद प्रकट गरेको छ।