धरान । लिम्बुवान नागरिक समाज यूकेले इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई काङ्सोरे पुरस्कार प्रदान गरेको छ । यस वर्ष स्व. चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।
शनिवार धरानमा आयोजिक एक कार्यक्रममा स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । लिम्बुवान समाज यूकेले त्रैवार्षिक रुपमा प्रदान गर्दै आएको नगद एक लाख रुपियाँ सहितको पुरस्कार तथा सम्मान कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई हस्तान्तरण गर्नु भयो ।
पुरस्कार छनोट समितिद्वारा इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण तथा लिम्बुवानको राजनीतिक चेतनामा पुर्याएको योगदानका आधारमा स्व. चेम्जोङलाई छनोट गरेको थियो । बेलायतमा स्थापना भएको समाजले लिम्बुवान प्राप्तिका लागि योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुलाई तीन-तीन वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।
यो पुरस्कार वि.सं. २०७९ सालमा पहिलोपटक पाँचथरका वीर नेम्वाङलाई प्रदान गरिएको थियो ॥