खाम्बाङमा खानेपानी योजना सम्पन्न, चुहानटार टोलमा भने अझै वञ्चित

  युद्धबहादुर बोहोरा
266 Shares

 

इलाम : फाकफोकथुम–१ र २ का बासिन्दाहरूका लागि संचालित कमेरे–जरिङ्गे–खाम्बाङ–तल्लो बोहोरा गाउँ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम अभाव झेल्दै आएका यस ठाउँका बासिन्दा अहिले योजना उद्घाटनको तयारीमा छन् ।

संस्थाका अध्यक्ष भोज बहादुर बोहोरा र सचिव खगेन्द्र बोहोरा अनुसार, प्रदेश सरकारको करीब २३ लाख रुपैयाँको लगानीमा यस खानेपानी तथा सरसफाइ संस्था मार्फत सञ्चालित आयोजनाबाट विभिन्न संघसंस्थासहित गाउँका ११३ घरपरिवार लाभान्वित  हुनेछन् ।

योजना अन्तर्गत १७ सय मिटर मुख्य लाइन र ५४ सय मिटर शाखा लाइन विस्तार गरिएको छ। फाकफोकथुम–१ का ९५ घर र वडा नम्बर २ का १८ घरमा बन्द धारा जडान गरिएको छ।

खानेपानीको अभाव झेल्दै आएको यो सुख्खा क्षेत्रमा वडानम्बर २ निवासी थिर बहादुर खड्का, विजुवा परिवार तथा स्व. प्रेम राई  र वीर बहादुर तामाङको जग्गाबाट मुहान उपलब्ध भएपछि योजना कार्यान्वयन सम्भव भएको हो। यही मुहान वरपरबाट २०४६ सालमा युनिसेफमार्फत सञ्चालनमा आएको योजना अलपत्र परेपछि यहाँका स्थानीय बासिन्दाले लामो समयसम्म पिउने पानीको समस्या खेप्नुपरेको थियो।

अघिल्ला योजनामा निरन्तरता नहुँदा स्थानीय हैरान

यस क्षेत्रको खाम्बाङमा यसअघि पनि युनिसेफ र मेची पहाडी खानेपानी योजना सञ्चालनमा आएका थिए, तर योजना दीर्घकालीन हुन नसक्दा स्थानीय पटक–पटक काकाकुल बन्नुपरेको थियो। हाल सम्पन्न योजनाले जरिङ्गे, गुम्बाडाँडा र खाम्बाङ पुच्छार पिपलबोटमा १०–१० घनमिटर क्षमताका तीनवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।

चुहानटारका सात घर अझै समस्या ग्रस्त

खाम्बाङ शिरानको चुहानटार क्षेत्रका सात घरधुरी भने अझै खानेपानी तथा सडक सुविधाबाट वञ्चित छन्। स्थानीय गणेश बोहोरा भन्छन्, “धेरै ठाउँमा पानी पुगिसकेको छ, तर हामीजस्ता टाढा रहेका घरमा अझै पानीको पाइप पुगेको छैन, सडकको हालत झनै खराब छ।” जनप्रतिनिधिहरुले पटक-पटक आश्वसन दिन्छन् योजना दिदैनन् । हामी आफ्नै खर्चमा पाइप किनेर दुःखले जीवन बचाइ रहेका छौं ।

खाम्बाङ टोलमा हाल पनि केही स्थानीयले पानीलाई केवल आफ्नो प्रयोगका लागि मात्र सञ्चालन गरिरहेका छन्, जसका कारण अन्य बासिन्दाहरू पिउने पानी सेवाबाट वञ्चित भएका छन्। त्यहाँको पानीको मुहान निजी स्वामित्वमा रहेको भन्दै केही व्यक्तिले अरुलाई पानी प्रयोग गर्न अनुमति नदिएको गुनासो आएको छ। विशेषतः भूमिहीन वा पानीको स्रोत नभएका स्थानीयवासीहरूलाई यस्तो व्यवहारले अत्यन्तै असहज परिस्थिति सिर्जना गरिरहेको छ, जसले सामुदायिक सहकार्यमा आधारित खानेपानी व्यवस्थापन प्रणालीलाई चुनौती दिएको छ।

दीर्घकालीन व्यवस्थापनमा आशंका

हाललाई योजना सम्पन्न भएको र उपभोक्तालाई पानी वितरण सुरु भए पनि दीर्घकालीन व्यवस्थापन र स्रोत संरक्षणमा भने उपभोक्ताहरू चिन्तित देखिन्छन्। प्राविधिक मनोज राईका अनुसार, “खानेपानी योजनालाई दिगो बनाउने भनेको नियमित मर्मत, स्रोत संरक्षण र स्थानीय उपभोक्ता समितिको सक्रियता हो।” स्थानीय सरकारले समेत दीर्घकालीन प्रभाव सुनिश्चित गर्न योजना अनुगमन र सहजीकरणमा निरन्तर ध्यान दिनुपर्ने देखिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार