अकबरे खेतीले फेरियो लसुनेकी बबिताको जीवन

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको रोङ गाउँपालिका-३, लसुनेकी बबिता राईले परम्परागत खेतीमा बाँदर र चराचुरुङ्गीले पुर्‍याउने क्षतिबाट दिक्क भएपछि अकबरे खुर्सानीको व्यावसायिक खेती गरेर सफलता हासिल गरेकी छन्। पहिले मकै र कोदो जस्ता बालीबाट निराशा मात्र हात लागेको बबितालाई अकबरे खुर्सानीले भने सन्तुष्टि र आम्दानी दुवै दिएको छ।

विगत दुई वर्षदेखि बबिताले आफ्नो घर वरपर करिब १० रोपनी जमिनमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छन्। परम्परागत बालीमा बाँदर र चराले बाली सखाप पार्दा लगानीसमेत नउठ्ने समस्या थियो। तर, अकबरे खुर्सानीमा उनले त्यस्तो समस्या भोग्नुपरेन। “बाँदर र चराले अकबरे खुर्सानी खाँदैनन्, जसले गर्दा मेरो मेहनत खेर जाँदैन,” बबिता भन्छिन्। यो नै उनका लागि सबैभन्दा ठूलो राहत बनेको छ।

बबिताले अकबरे खुर्सानीको खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेकी छैनन्। गोबर मल र जैविक विषादीको प्रयोग गरेर उनी पूर्ण रूपमा अर्गानिक अकबरे उत्पादन गर्दै आएकी छन्। यसले गर्दा उनको उत्पादनको माग बढेको छ र उनी धेरैका लागि एउटा नमूना किसान बनेकी छन्। अर्गानिक उत्पादनले उनको आर्थिक अवस्थामा सुधार ल्याएको छ र उनका दुःखका दिनहरू सकिएका छन्।

बबिताको घर मेची राजमार्ग नजिकै भएकाले अकबरे खुर्सानी बिक्री गर्न उनलाई कुनै समस्या छैन। राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू र स्थानीय बजारमा उनको अकबरे खुर्सानीको माग उच्च छ। उनी खेतबाटै ताजा खुर्सानी बेचेर राम्रो मुनाफा कमाउँदै छिन्।

बबिताको कृषि प्रतिको लगाव र सफलतालाई रोङ गाउँपालिकाले पनि उच्च कदर गरेको छ। उनको मेहनत र परिश्रमकै कारण गाउँपालिकाले उनलाई सहयोग गरेको छ। पालिकाको सहयोगले बबितामा थप जाँगर पलाएको छ र उनी अझ ठूलो स्केलमा खेती गर्ने योजनामा छिन्। रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोले बबिता जस्ता सफल उद्यमी किसानहरूलाई लक्षित गरी आगामी दिनमा थप कार्यक्रमहरू ल्याउने नीति लिएको बताएका छन्। उनले पालिकाको कृषि विकासमा बबिताजस्ता किसानहरूको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए।

यसैगरी, वडा अध्यक्ष मात्रिका बरालले पनि कृषि कर्ममा उन्नति र प्रगतिमा लम्किएका किसानहरूलाई वडाले सक्दो सहयोग गरिरहेको बताएका छन्। उनले कृषिमा युवाहरूलाई आकर्षित गर्न र परम्परागत खेती प्रणालीमा सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।

बबिता राईको सफलताले रोङ गाउँपालिकाका अन्य किसानहरूलाई पनि प्रेरणा मिलेको छ। बाँदर र चराचुरुङ्गीको समस्याले दिक्क भएका किसानहरूका लागि अकबरे खुर्सानीको खेती एउटा राम्रो विकल्प हुन सक्ने उनको अनुभवले देखाएको छ। बबिताको यो प्रयासले कृषिमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश पनि राम्रैसँग सिकाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार