कोशी प्रदेशमा फाकफोकथुमको चन्द्र सूर्य सहकारी उत्कृष्ट घोषित

  युद्धबहादुर बोहोरा
553 Shares

इलाम : फाकफोकथुम–२ मा रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोशी प्रदेशमा उत्कृष्ट सहकारीको रूपमा राष्ट्रिय सहकारी बैंकबाट सम्मान प्राप्त गरेको छ।

विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रममा सहकारीले आफ्नो उत्कृष्ट कार्यसम्पादनका लागि प्रशंसा पाएको हो। बैक संचालक अमृता सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलले सहकारीका अध्यक्ष बालकृष्ण भट्टराई, व्यवस्थापक धनसिं राई र शाखाका प्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गरे।

२०५८ सालमा स्थापना भएको चन्द्र सूर्य सहकारीले हालसम्म ९ करोड रुपैयाँ पुँजी संकलन गरिसकेको छ। यस संस्थामा ६७५ जना शेयर सदस्य आवद्ध छन्। सामाजिक उत्तरदायित्व, पारदर्शिता र सदस्यहितमा केन्द्रित रही सहकारीले क्षेत्रीयस्तरमै उदाहरणीय योगदान पुर्‍याउँदै आएको छ।

गत वर्ष फाकफोकथुम गाउँपालिकाबाट उत्कृष्ट सहकारी घोषणा गरिएको यस संस्थालाई यस वर्ष इलाम जिल्ला बचत तथा सहकारी संघले पनि सम्मान गरेको हो।

कोशी प्रदेशका १४ जिल्लामा फैलिएका राष्ट्रिय सहकारी बैंकका १२ शाखामार्फत छनोट गरिएका सहकारीहरूमध्ये इलाम जिल्लाको चन्द्र सूर्य सहकारी उत्कृष्ट सहकारीको रूपमा छानिनु संस्थाका लागि मात्र नभई सम्पूर्ण फाकफोकथुम क्षेत्रका लागि पनि गर्वको विषय बनेको छ। स्थापना कालदेखि नै लगातार आफ्नो पहिचान कमाइ रहेको यस सहकारीले बैंकको सेवा नपुगेका ग्रामीण बासिन्दालाई  सहज र सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ। यसले स्थानीय नागरिकको उद्यमशीलता, कृषि व्यवसाय र दैनिक आर्थिक क्रियाकलापमा उल्लेखनीय सहयोग पुर्‍याएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार