पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा हालसम्म ६ लाख ४४ हजार १०५ रुपैयाँ संकलन भएको छ।
विगत केही समयदेखि पूर्वविद्यार्थी, शिक्षक, अभिभावक र समाजसेवीहरूको सक्रिय सहयोगमा संकलन भइरहेको उक्त कोषमा हालै थप तीन जना दाताबाट १ लाख ४५ हजार १०५ रुपैयाँ संकलन भएसँगै रकम ६ लाख नाघेको हो।
विहिवार एक कार्यक्रमका बीच फाल्गुनन्द ४ चिलिङदिन निवासी खड्गबहादुर रहपाल र तिलीमाया रहपालका छोरा, दिवंगत दिपेश रहपालको सम्झनामा उनकी पत्नी कला घिमिरे रहपाल र बुबाआमाबाट एक लाख ५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् । यस विद्यालयका पूर्वविद्यार्थी रहपाल वैदेशिक रोजगारीका क्रममा गत वर्ष कतारको दोहामा निधन भएका स्व. रहपालको स्मृतिमा यो सहयोग गरिएको हो। उक्त सहयोगसँगै शिक्षक तथा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो।
त्यसैगरी, इलाम फाकफोकथुम–१ निवासी तथा घुर्विसे पञ्चमी बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्व विद्यार्थी टिका सम्बाहाम्फेबाट ३० हजार रुपैयाँ उनकी श्रीमती इक्सा सम्बाहाम्फे मार्फत कोषमा हस्तान्तरण गरिएको छ।
स्थानीय समाजसेवी जितेन चेम्जोङले पनि १० हजार १०५ रुपैयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगन विक्रम चेम्जोङको उपस्थितिमा हस्तान्तरण गरेका छन्।
विद्यालयका प्रधानाध्यापक नरेन्द्र प्रसाद अधिकारीका अनुसार, अक्षयकोष स्थापनाको उद्देश्य दीर्घकालीन शैक्षिक सुधार, छात्रवृत्ति, शैक्षिक सामग्री तथा विशेष कार्यक्रम सञ्चालन हो। “यो अक्षयकोषले विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै शिक्षाको गुणस्तर उकास्न मद्दत गर्नेछ,” उनले बताए।
स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयको यो प्रयासलाई खुलेर स्वागत गरेका छन्। विद्यालयले आगामी दिनमा कोष विस्तार गर्न पूर्वविद्यार्थी सम्मेलन, सांस्कृतिक कार्यक्रम र सहयोग संकलन अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ।
विद्यालयको पृष्ठभूमि
वि.सं. २०३७ मा स्थापना भएको घुर्विसे पञ्चमी मावि इलाम–पाँचथर सिमानामा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। यस विद्यालयले विगतमा एसएलसीमा जिल्लामै उत्कृष्ट प्रदर्शन गर्दै शिक्षा कार्यालयबाट नगद पुरस्कारसमेत प्राप्त गरिसकेको छ। हाल कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यम र कक्षा ८ सम्म लिम्बू भाषा विषय पढाइ हुने व्यवस्था गरिएको छ।
करीब ५ सय विद्यार्थी अध्ययनरत यो विद्यालयमा २४ जना शिक्षक/कर्मचारी कार्यरत छन्। पुस्तकालय, विज्ञान प्रयोगशाला, आइसिटि ल्याब र शुद्ध खानेपानी व्यवस्था रहेको यस विद्यालयमा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई खाजाको पनि व्यवस्था गरिएको छ।
हालै सम्पन्न एसईई परीक्षामा विद्यालयले पालिकाभरका विद्यालयहरूलाई पछि पार्दै उत्कृष्ट जिपीए प्राप्त गरेको छ। यद्यपि विद्यालयमा विद्यार्थी चापका कारण शौचालय, थप शिक्षक र भवन जस्ता भौतिक संरचना अझै आवश्यक रहेको र खेलमैदानसमेत व्यवस्थित नभएको अभिभावकको भनाइ छ।
घुर्विसे पञ्चमी माविको यो अक्षयकोष पहल ग्रामीण भेगमा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्ने एक प्रेरणादायी प्रयास बनेको विद्यालयका शिक्षक सुरेन्द्र प्रसाद लामिछाने बताउँछन् । यसले शिक्षा क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास स्थानीय समुदायले व्यक्त गरेका छन्।