इलाम :इलामको रोङ गाउँपालिका-१, शान्तिपुरका चन्द्र खालिङले थोरै जमिनमा अलैँची खेती गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । करिब चार रोपनी जमिनमा १० मन (४०० किलोग्राम) अलैँची उत्पादन गरेर उनले सबैलाई चकित पारे । परम्परागत खेतीपाती गर्दै आएको जमिनमा अलैँची रोपेर र त्यसलाई उचित स्याहार गरेर उहाँले आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत नै अलैँचीलाई बनाएका छन् ।
गत वर्षदेखि पर्याप्त अलैँची फल्न थालेपछि उत्साहित भएका चन्द्रले यस वर्षदेखि बाँकी जमिनमा पनि अलैँची लगाउने सुरसार गरिरहहेका छन् । उनको यो जाँगरलाई रोङ गाउँपालिकाले पनि साथ दिएको छ । पालिकाले चन्द्रलाईं कृषि उद्यममा थप सहयोग गर्ने वचन दिएको छ, जसले गर्दा उनको उत्साह अझ बढेको छ ।
रोङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनोहरी खड्काले कृषि कर्ममा नै उन्नति र प्रगतिमा लम्किएका चन्द्रको जाँगरमा थप ऊर्जा भर्ने काम वडाले गरिरहेको बताए । “चन्द्रजीको मिहिनेत र कृषि प्रतिको लगावले हामीलाई पनि प्रेरणा दिएको छ,“ खड्काले भने, “उनीजस्ता उद्यमी किसानलाई सहयोग गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।“ वडाको यो सहयोगले चन्द्रलाई अझ ठूलो मात्रामा अलैँची खेती विस्तार गर्न हौसला मिलेको छ ।
उनको मिहिनेत र परिश्रमकै कारण रोङ गाउँपालिकाले उनलाई मेहेनती किसानमा सुचिकृत गरिसकेको छ । रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबोले पालिकाले चन्द्रजस्ता सफल उद्यमी कृषकलाई लक्षित गरी कार्यक्रमहरू बढाउँदै जाने नीति लिएको जानकारी दिए । “हामी स्थानीय उत्पादन र कृषकको सशक्तीकरणमा जोड दिँदै आएका छौँ,“ अध्यक्ष स्याङबोले भने, “ यसले किसानलाई पनि कृषि उद्यममा लाग्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”
चन्द्रले अलैँची खेतीमा परम्परागत विधि मात्र नभई आधुनिक प्रविधि र नवीनतम ज्ञानको पनि प्रयोग गरेका छन् । उनले अलैँचीका उन्नत जातहरूको छनोट, रोग तथा कीरा नियन्त्रणका उपायहरू र उचित मलजलको प्रबन्धमा विशेष ध्यान दिएका छन् । यसले गर्दा उनको उत्पादनको गुणस्तर र मात्रा दुवैमा वृद्धि भएको हो । स्थानीय कृषि प्राविधिकहरू र विज्ञहरूसँगको निरन्तर परामर्शले पनि उनको सफलतामा ठूलो भूमिका खेलेको छ । यसरी, ज्ञान र सीपलाई सही ढंगले प्रयोग गर्दा थोरै जमिनबाट पनि कसरी उच्च आम्दानी गर्न सकिन्छ भन्ने कुरा अन्यका लागि समेत सिक्ने मौका मिलेको छ ।
रोङ गाउँपालिकाले चन्द्र खालिङजस्ता सफल किसानहरूलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको छ । पालिकाले अलैँची, अदुवा, चियाजस्ता नगदे बालीको उत्पादन बढाउनुका साथै भण्डारण र बजारीकरणका लागि पनि सहयोग गर्ने योजना बनाएको छ । यसका लागि तालिम र प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गाउँपालिकाको यो दीर्घकालीन योजनाले समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने र किसानहरूको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।