
इलाम : इलाम सदरमुकामदेखि झापाको ब्यापारीक केन्द्र विर्तामोड जोड्ने छोटो दुरीको महत्वाकांक्षी योजनाको रुपमा रहेको केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
इलाम नगरपालिका-९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडानको काम सकिएको हो । संघीय सरकारको एक करोड ३५ लाख रूपैयाँको लागतमा सगर/सुभारम्भ/एरिसा जेभीले यो बेलिबृज निर्माणको ठेक्का लिएको थियो । बेलिब्रिज ४८ दशमलव ६ मिटर लम्बाइको रहेको छ ।
‘बेलिब्रिजको जडानको काम सकिएको छ अब थोरै ग्याबिन लगाउन मात्र बाकी छ, समग्रमा काम सकिएको छ’, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले भने, ‘अब आज दिउसो लोड टेस्टको काम हुन्छ, त्यस पछि उद्घाटन भएपछि संचालनमा ल्याइनेछ ।’
यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण भएको हो । यसअघि पुल नहुँदा यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । मध्य बर्खामा करिव तिन महिना भने सो सडक पूर्ण रुपमा बन्द हुने गरेको थियो ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्खाको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
मंगलबार अनुगमन
जिल्ला प्रशासन कार्यालय इलाम, सडक डिभिजन कार्यालय इलाम सुरक्षा निकायका प्रमुखहरुसहित जिल्ला समन्वय समिति इलाम र इलाम नगरपालिका जनप्रतिनिधि सम्मिलित संयुक्त टोलीले मगलबार निर्माणाधीन सडक सहित बेलीबृजको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वको टोलीले सडक र पुलको अवस्थाको जानकारी लिएको थियो ।
केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ ।
करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ, पुवाखोला, सोयाक, बेलासे, चिसापानी र दानाबारी हुँदै झापा खुदुनाबारी भएर बिर्तामोड जोडिने यो मार्गमा अहिले सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।






















































