
इलाम : राष्ट्रिय धान दिवसको अवसरमा आइतबार युवा संगठन वाइसीएल इलामले देउमाई नगरपालिकास्थित सूर्य अविनास स्मृति प्रतिष्ठानमा श्रमदान कार्यक्रमको आयोजना गरेको छ । इलामको उत्तरी भेगमा असार १५ मा प्रत्यक्ष धान रोपाइँ सम्भव नहुने भएकाले यस दिनलाई ‘श्रम दिवस’ का रूपमा मनाइएको हो ।
कार्यक्रमअन्तर्गत सरसफाइ, पोखरी सफा गर्ने, मल बोक्ने, र वृक्षारोपण जस्ता कार्यहरू गरी श्रमसँग एकाकार हुने सन्देश दिइएको आयोजकहरूले जनाएका छन् । वाइसीएल इलामले युवालाई श्रमप्रति अभिप्रेरित गर्दै समाजवादी सोच निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममार्फत ‘श्रम बिना समाजवाद सम्भव छैन’ भन्ने सन्देश फैलाउने प्रयास गरिएको वाइसीएल इलामका नेताहरूले बताएका छन् । राष्ट्रिय धान दिवसलाई ‘संघर्ष र श्रम अभियान’ को रूपमा आत्मसात् गर्दै वाइसीएलले युवालाई देश निर्माणमा सक्रिय बनाउन जोड दिएको हो ।



























































