
इलाम : नेकपा (माओवादी केन्द्र) चुलाचुलीले २२औं राष्ट्रिय धान दिवसको अवसरमा जनयुद्धका सहिदको सम्मानमा आइतबार धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।
१० वर्षे जनयुद्धका क्रममा सहादत प्राप्त गरेका धिरेन चेम्जोङ (कुमार) को चुलाचुलीस्थित खेतमा रोपाइँ गरी दिवस मनाइएको हो ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा इलाम जिल्ला सह-इन्चार्ज हर्क लाओती, अखिल (क्रान्तिकारी) का प्रदेश प्रमुख सचिव नयन राई, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चुलाचुली अध्यक्ष जगत लिङ्दम लगायत पार्टीका स्थानीय नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आयोजक समिति अध्यक्ष न्युसन राईका अनुसार सहिद परिवारको खेतमा रोपाइँ गरेर उनीहरूको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा सहभागीहरूले सहिदको सपना साकार पार्न जनताको पक्षमा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।


























































