तरुण दलको अवैध तदर्थ समिति भङ्ग गर्न माग गर्दै आमरण अनसन

  नयाँ बुलन्द
35 Shares

काठमाडौँ  : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा विद्रोह भएको छ । तीन वर्षअघि तीन महिनाभित्र महाधिवेशन गर्न पार्टीले गठन गरिदिएको तदर्थ समितिले तीन वर्ष पूरा हुँदासमेत महाधिवेशन नगरेर नालायकी देखाएको भन्दै अवैध समिति भङ्ग गर्न माग गर्दै अनन्तुष्ट पक्षले आमरण अनसन नै थालेको छ ।

गत अन्तिम पटक कांग्रेसले गत चैतभित्र महाधिवेश गर्न बाँकी भ्रातृ वा भगिनी संस्थालाई उर्दी जारी गरेको भए पनि त्यो निर्देशनसमेत लत्याएर तरुणका अवैधानिक तदर्थ समितिका अध्यक्ष ठेक्कापट्टामा लागेको आरोप लगाउँदै उनीहरुले आमरण अनसन थालेका हुन् । पार्टी मुख्यालयमै अनसन थालिएको हो ।

यसअघि तरुण दलको समिति भङ्ग गर्न माग गर्दै धेरै पटक विरोध भइसकेको छ ।

महाधिवेशन गर्न असक्षम तदर्थ समितिलाई भङ्ग गर्न माग गर्दै तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले पार्टी मुख्यालय बीपीनगर सानेपामा आमरण अनसन थालेका हुन् ।

उनीहरुले तदर्थ समितिले संगठनलाई व्यक्तिवादी कब्जामा राख्दै लम्जुङमा खुकुरी प्रहारजस्ता आपराधिक घटनामा संलग्न गुटको संरक्षण गरेको आरोप लगाएका छन् ।

त्यस्तै भवन निर्माण बजेटको नाममा प्रचारबाजी गरेर गणेशमान सिंहको नाममा दाग लगाउने कार्य गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

अध्यक्ष विद्वान गरुङले तीन वर्षमा एउटा अधिवेशन गर्न नसकेको, ५० भन्दा बढी जिल्लामा मनपरी कार्यवाहक नियुक्ति गरेको र पार्टीको निर्देशनसमेत अटेर गर्ने यस्तो नेतृत्वले तरुण दलको पतनको मार्ग खोलेको आरोप उनीहरुको छ ।

उनीहरुले पार्टी नेतृत्वले तदर्थ समितिलाई तत्काल भङ्ग नगरे संगठनभित्र आन्तरिक विद्रोह थप चर्किने चेतावनी पनि दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार