करदाता शिक्षा दिंदै फाल्गुनन्द गाउँपालिका

  युद्धबहादुर बोहोरा
168 Shares

पाँचथर :  फाल्गुनन्द गाउँपालिकाका व्यवसायीहरूलाई करसम्बन्धी शिक्षा प्रदान गरिएको छ। व्यवसाय सञ्चालन गर्दा करप्रति जानकारीको अभावले समस्या निम्त्याउने भएकाले उक्त कार्यक्रम आयोजना गरिएको हो।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा, सामाजिक शैक्षिक तथा वातावरणीय विकास नेपालको आयोजना तथा करदाता सेवा कार्यालय फिदिमको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो। राँके बजार र घुर्विसे पञ्चमी क्षेत्रका व्यवसायीहरूलाई लक्षित गरी करसम्बन्धी आधारभूत विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा कर अधिकृत बन्द्री प्रसाद भेटवालले व्यवसाय सञ्चालनका क्रममा अनिवार्य हिसाबकिताब राख्ने तरिका, व्यवसाय दर्ता नगरी सञ्चालन गर्दा लाग्ने कानुनी कारबाही, मिसम्याच समस्या, भ्याटसम्बन्धी सावधानी तथा कर तिर्ने समय र प्रक्रिया लगायतका विषयमा जानकारी दिए।

सहभागी व्यवसायीहरूले व्यवसाय दर्ता र कर तिर्दा देखिने व्यवहारिक कठिनाइ, प्रक्रिया र निर्देशनको अस्पष्टता सम्बन्धी जिज्ञासा राखे। उनीहरूले कर बुझाउने झन्झट तथा प्रणाली सुधारका लागि सुझाव पनि प्रस्तुत गरे। कर तिर्न घुम्ती शिविरकोसमेत  माग गरेका छन् । जिल्लामा जाँदा समयको खर्च र आर्थिक भार पर्ने बताउँदै स्थानीयस्तरमा कर तिर्ने वातावरण तय भए सहज हुने जानकारी गराए ।

सामाजिक शैक्षिक तथा वातावरणीय विकास नेपालका सचिव भीम कार्कीले व्यवसायीहरूमा करप्रतिको जानकारी अभावले समस्या बढेको उल्लेख गर्दै, यस्ता तालिमले दीर्घकालीन रूपमा समाधान दिन सक्ने विश्वास व्यक्त गरे। उनले व्यवसाय सञ्चालनमा प्रयोग हुने सम्पूर्ण कागजात व्यवस्थित तरिकाले राख्नुपर्नेमा समेत जोड दिए। कर सम्बन्धी जानकारीमुलक ज्ञान लिन फाल्गुनन्दका दुई स्थानमा करीब दुई सय जना भन्दा बढी व्यावसायी र सहभागीले शिक्षा लिएको सचिव कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार