
इलाम : माङसेबुङ गाउँपालिकाले आफ्नो १७औँ गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक अध्यक्ष विनोद नेम्बाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक, आर्थिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
गुणस्तरीय शिक्षामा प्रतिबद्धता
कार्यक्रमअनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, मातृभाषामा पठनपाठन प्रवर्द्धन, गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक दरबन्दी नपुगेका विद्यालयहरूलाई अनुदान, तथा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । साथै, सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई निरन्तरता, नि:शुल्क स्यानिटरी प्याड वितरण, अभिभावक शिक्षा कार्यक्रम, स्काउट विस्तार, लोकसेवा तयारी कक्षा तथा युनिट परीक्षण कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
सबैलाई सुलभ स्वास्थ्य सेवा
गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालन तयारी अघि बढाइने भएको छ भने स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइको सेवा अझ प्रभावकारी बनाइनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ पार्दै गर्भवती महिला र जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा, नवजात शिशुको पोषणका लागि “सुनौलो हजार दिन” कार्यक्रम, नियमित स्वास्थ्य शिविर तथा औषधि सेवा वितरणलाई निरन्तरता दिइने नीति ल्याइएको छ ।
खानेपानी र सरसफाइ
गाउँपालिकाभित्रका सबै घरधुरीलाई स्वच्छ खानेपानी पहुँच पुर्याउन सौर्य लिफ्टिङ, एक घर एक धारा योजना तथा सरसफाइका योजना संचालन गरिनेछ ।
संस्कृति तथा पर्यटन प्रवर्द्धन
गाउँपालिकाले किरात लिम्बू तथा बान्तवा भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको छ । फाल्गुनन्द पार्क निर्माण, माङमालुङ धार्मिक पर्यटन विकास समिति गठन, गजुरमुखीधाम र माङसेबुङलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति ल्याइएको छ ।
युवा, रोजगारी तथा कृषि विकास
युवाहरूलाई स्वदेशमै रोजगारी दिन सिपमूलक तथा आयमूलक तालिम सञ्चालन, कृषि यान्त्रीकरण, बजार पूर्वाधार विकास, एक गाउँपालिका एक शीतभण्डार तथा गाई पकेट कार्यक्रम, चिया, अदुवा, अलैंची लगायत नगदेबालीको बजार विस्तारलगायत योजना प्रस्तुत गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
वन संरक्षण तथा प्रकोप जोखिम न्यूनीकरणका लागि जैव इन्जिनियरिङ चेक ड्याम, माटो संरक्षण कार्यक्रम तथा चुरे संरक्षण योजनालाई निरन्तरता दिइनेछ ।
सुशासन, पारदर्शिता र प्रविधिको प्रयोग
गाउँपालिकाले सेवालाई छरितो र पारदर्शी बनाउन वडा र गाउँपालिकाका कार्यालयहरूलाई प्रविधिमैत्री बनाउने, विद्युतीय हाजिरी, सार्वजनिक सुनुवाइ, सामाजिक सञ्जाल तथा रेडियोमार्फत सूचना प्रवाह, लोककल्याणकारी सूचना प्रचार, राजश्वको स्वचालित प्रणाली तथा सेवाग्राही पृष्ठपोषणलाई प्राथमिकता दिएको छ।
सामाजिक सुरक्षाका नयाँ पहलहरू
आदिवासी जनजाति, दलित, अपांग, एकल महिला, जेष्ठ नागरिक तथा अन्य लक्षित समूहका लागि विशेष कार्यक्रम सञ्चालन, अपांगता सशक्तीकरण, सहुलियतपूर्ण कर्जा तथा सामाजिक सुरक्षा वितरणलाई व्यवस्थित गर्दै सामाजिक विकासलाई तीव्रता दिने नीति ल्याइएको छ ।
अन्त्यमा
गाउँपालिकाले प्रस्तुत नीति तथा कार्यक्रमलाई सम्पन्न गर्न नागरिक, जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता र स्वामित्व आवश्यक रहेको बताउँदै “आहा माङसेबुङ” अभियानलाई साकार पार्न सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको छ ।
माङसे्बुङ गाउँपालिकाको आ.व. २०८२/०८२ को नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस् :






















































