फाकफोकथुम गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, ५६ करोड ४९ लाख बजेट (पूर्ण पाठ सहित)

  नयाँ बुलन्द
315 Shares

 

इलाम :  इलामको फाकफोकथुम गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ४९ लाख ८६ हजार ५७३ रुपैयाँ बराबरको बजेट अनुमान गरेको छ ।

असार ९ गते सम्पन्न फाकफोकथुम गाउँपालिकाको गाउँसभा १८ औं अधिवेशन  मा अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष कल्पना राईले बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् ।

वार्षिक नीति तथा कार्यक्रम

फाकफोकथुम गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र खनालद्धारा १८ औं गाउँसभा अधिवेशनमा प्रस्तुत आ.व. २०८।०८ को वार्षिक नीति तथा कार्यक्रम

गाउँपालिकाको उपाध्यक्ष ज्यू, सभा सदस्य ज्यूहरु सवैलाई १८ औं गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु । संघीय लोकतान्त्रिक नेपाल निर्माण गर्ने विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रतिज्ञा गर्दछु ।  फाकफोकथुम गाउँपालिकाको यो गरिमामय सभामा फाकफोकथुम गाउँपालिकाको नवौ तथा स्थानिय तहको दोश्रो निर्वाचन पछिको चौथो बर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु । यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण फाकफोकथुमवासी महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

सडक पूर्वाधार, खानेपानी, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना, लगायत सामाजिक विकासका विषयहरु हाम्रो प्राथमिकता हुन् । स्थानीय सरकार जनताको घर आगनमा सधै सगै हुने सरकार भएकोले जनताका सबैखाले आवश्यकता सिधै सरकारका प्रतिनिधिसँग आइपुग्दछ । सिमित स्रोत साधन र संघ, प्रदेशका सर्त सहितका आयोजनाका कारण बजेटले जनताको सवैखाले आवश्यकता सम्वोधन गर्न नसक्नु हाम्रो बाध्यता हो । सङ्घिय संरचनाको आवश्यकता अनुसारको वितिय वाँडफाँड नहुँदा आम्दानी कम भएका स्थानीय तहले जनताका सवैखाले आवश्यकता सम्वोधन गर्न सकिने अवस्था छैन । यस विषयमा संघ र प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी छ । यसका वावजुद आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप जनमुखी बनाउने प्रयत्न गरिएको छ ।

वडा कार्यालयबाट गाउँपालिका केन्द्र र गाउँपालिका केन्द्रबाट जिल्ला सदरमुकाम जाने सडकको स्तरउन्नती गर्ने हाम्रो प्रतिवद्धता अनुसार आंशिक रुपमा प्रमुख सडकहरु बाह्रै महिना चल्ने अवस्थाका भएका छन् । गाउँपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गरी गाउँपालिका भित्रका प्रमुख सडक सुधारका कार्यलाइ तिब्रता दिदै आएको छ । आगामी आर्थिक बर्षमा सडक स्तर उन्नतीको कार्यलाइ अझ तिब्रता दिइने छ । गाउँपालिका प्रदेश सरकार र संघिय सरकारका विषयगत कार्यलय मार्फत गरी २१ वटा भन्दा बढी ठूला आयोजना संचालन गरी प्रमुख सडकहरुको स्तरउन्नती गरिनेछ । शुक्रवारे बजार क्षेत्रको सडक सुधारको योजनालाइ निरन्तरता दिइनेछ । वडा र पालिकाले अन्य ग्रामिण सडक स्तरउन्नतिका लागि ग्राभेल र सोलिङ गर्ने कार्य तिव्र रुपमा सञ्चालन गर्दै आईरहेको छ यसलाइ निरन्तरता दिइनेछ ।

गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, नगदेवालीलाइ व्यवसायीकरण गर्न अलैची कफि एवोकार्डो किवि अकवरे अदुवा वेसार र रैथाने तोरीलाइ थप कार्यक्रम संचालन गरिने छ ।  पशुपालन व्यवसायलाइ आम्दानीको प्रमुख श्रोतको रुपमा विकास गर्ने । पुर्वाधारमा गुणस्तर, स्वास्थ्यमा विश्वासिलो र शिक्षामा नमुना गाउँपालिका बनाउदै गाउँपालिकालाइ सफा सुन्दर र पर्यटकिय गन्तब्यको रुपमा स्थापित गर्ने, भूमिहिन तथा सुकुम्वासीहरुको व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने र बसाइसराइको क्रमलाइ रोक्न रोजगार मुलक कार्यक्रम संचालन गरिनेछ ।

गाउँपालिकाले आफ्नै अस्थायी भवनबाट सेवा प्रवाह शुरु गरेको छ । वडा नं ६ को स्वास्थ्य कार्यलय र पशु अस्पताल यसै आ ब मा सम्पन्न गरिनेछ । फाकफोकथुम सव–डिभिजन कार्यालयको भवन निर्वाणाधिन अवस्थामा रहेको छ । १६ वटा सिंचाई कुलो मध्ये १० बटा निर्माण सम्मन्न भएका छन भने ६ वटा निर्माण सम्मन्न हुने चरणमा छन् भने आगामी आ व मा थप २ वटा सिचाई योजना संचालन गरिनेछ । गाउँपालिका केन्द्रमा छुट्टै सभाहल सञ्चालन भईरहेको छ । आमचोक क्षेत्रको खानेपानी व्यवस्थापनका लागि ३ करोड भन्दा बढी लागतको आयोजना सम्पन्न हुने चरणमा रहेको छ । संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३० वटा भन्दा बढी साना ठूला खानेपानी योजना निर्माण र मर्मत भएका छन् । गाउँपालिकाले सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन इन्ट्रानेट जडान कार्य हुँदै गरेको छ यसलाइ सवै वडामा जडान गरिनेछ ।

कृषि र वन पैदावारको विकासका लागि वनको सव डिभिजन कार्यालयसँगको साझेदारीमा सामुदायिक वनका उपभोक्ताहरुलाई विभिन्न सामग्री उपलब्ध गराइनेछ । कृषि र पशुपालन व्यवसाय प्रवर्धन कार्यक्रमलाई वडा स्तरवाट प्राथमिक्ताका साथ अगाडी बढाउँदै आएको छ । वार्षिक रुपमा १०० वटा भन्दा बढी गोठ र खोर सुधार हुँदै आएका छन् ।

आगामी आर्थिक बर्ष २०८२।०८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न आम फाकफोकथुमवासि एवं सेवा प्रदायक सरकारी तथा गैर सरकारी कार्यालय एवं संघसंस्था, पेशा व्यवसाय, उद्योगी, व्यापारमा आवद्ध महानुभावहरुको सहयोग, सद्भाव, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु ।

सभाका सदस्य ज्यूहरु,

अव म फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम यस सम्मानित गाउँ अधिवेशनमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आगामी आ.व. २०८२।०८३ को नीति तथा कार्यक्रम तयार गर्दा निम्न उद्देश्यलाई आधार मानेको छु ।

  • पूर्वाधार विकासका आधार तयार गर्ने । जसका लागि पालिकाले संघ सरकार र प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा योजना अगाडि बढाइनेछ ।
  • गाउँपालिकासँग भएको स्रोत साधनको उच्चतम प्रयोग गरी पारदर्शी, सुलभ, कम खर्चिलो तवरले नीति तथा कार्यक्रमको कार्यान्वयन गरिनेछ ।
  • शैक्षिक गुणस्तरमा सुधार गरी नागरिकमा समाजप्रति थप उत्तरदायित्व र जिम्मेवारीको बोध गराउने ।
  • आन्तरिक पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा पहिचान बढाउने ।
  • कृषि र पशुपालन पेशालाई व्यवसायीकरण गर्ने ।
  • सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउदै सुशासनको प्रत्याभूति गराउने ।
  • भ्रष्टाचारको अन्त्य गर्ने ।

फाकफोकथुम गाउँपालिकाको दिर्घकालिन विकासका लागि आ.व. ०७९/०८० मा तय गरिएको “कृषि, पर्यटन र पूर्वाधार, समृद्ध फाकफोकथुमको आधार” भन्ने सोच अहिले पनि उत्तिकै सान्दर्भिक छ । यस सोचलाई पूरा गर्न निम्न अनुसारका नीति तय गरिएको छ ।

शिक्षा क्षेत्र

संसदको चालु अधिवेशनवाट संघिय शिक्षा ऐन पारित हुने भनिएको छ । उक्त्त ‌ ऐन पारित भएपछि फाकफोकथुम गाउँपालिकाले समेत आगामी आ व मा गाउँ शिक्षा ऐन तथा नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

  • विद्यालयको भौतिक सुधारका कार्यक्रमलाई निरन्तरता दिईनेछ । विद्यालयहरुमा आवस्यक भवन निर्माणका लागी आवश्यकता पहिचान गरि प्रदेश र संघिय सरकारसंग समन्वयमा गरिदै आएको छ । विद्यालयको भौतिक सुधारका लागि गुरुयोजनमा आधारीत रकम र पालिकाको सझेदारीमा जालपा मावि लुम्दे र सिङ्हदेवि मावि फूएतप्पामा विद्यालय भवन निर्माण गरिनेछ । साथै आवस्यकताका आधार अन्य केही विद्यालयहरुको भवन तथा संरचना मर्मत तथा पुनःनिर्माण गरिने कामलाई निरन्तरता दिईनेछ ।
  • विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र शिक्षकलाई थप जवाफदेही बनाउँदै विद्यार्थीहरुलाई अनुशासित बनाउन कार्यक्रम तयार गरिनेछ साथै कक्षा ८ र १० का अङ्ग्रेजी,गणित र विज्ञान विषयको सिकाइ उपलब्धी वृद्धि गर्नको लागि कोचिङ्ग कक्षा सञ्चालन गरिनेछ ।
  • सामुदायिक विद्यालयमा रहेको प्रारम्भिक बालविकास शिक्षा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न बालविकास सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिनेछ ।
  • SEE मा र कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सबै भन्दा बढी अंक सहित धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षक तथा विद्यालयलाई सम्मान तथा प्रोत्सहानको नीति अबलम्बन गरिनेछ ।
  • सङ्घीय तथा प्रदेश सशर्त र विषयगत अनुदानका कार्यक्रमहरु प्रभावकारि रुपमा कार्यान्वयन गरिनेछ ।
  • सामुदायिक सिकाइ केन्द्रलाई नाम मात्रको सिकाई केन्द्रबाट माथि उठाई व्यवहारिक सिकाइ गर्ने केन्द्रको रुपमा विकास गरिनेछ ।
  • बाल बालिकाहरुको विद्यालय छोड्ने दर घटाउन आकर्षक कार्यक्रम तयार गरि लागू गरिनेछ ।
  • नीजि क्षेत्रमा सञ्चालित शिक्षण संस्थाहरुलाई आवश्यक सहयोग गरिनेछ ।
  • विद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।
  • शिक्षकहरुलाइ अझ जिम्मेवार बनाउन र विध्यालयको भौतिक सुरक्षाका लागि गाउँपालिका शिक्षा शाखावाट अनुगमन हुनेगरी प्रत्येक विध्यालयका कार्यालय र स्टाफ कोठामा सीसी क्यामेरा जडान गर्ने कार्य शुरु गरिनेछ ।

 कृषि विकासतर्फ :

  • फाकफोकथुम गाउँपालिकाको भौगोलिक क्षेत्र र मौसम सुहाउँदो बाली, फलफूल, नगदेबाली, तेलहनबाली, मसलाबाली, तरकारीबाली उत्पादन बढाउने कार्यक्रम अगाडी बढाइनेछ ।
  • कृषिजन्य बालीमा देखापर्ने रोगकीराको प्रकोप पहिचान गरी रोकथाम, व्यवस्थापन उक्त समस्यालाई न्यूनीकरण गर्दै बालीमा हुने ह्रास हटाउन आवश्यक बाली संरक्षणसँग सम्बन्धित जैविक क्रियाकलापहरुलाई उच्च प्राथमिकता दिइनेछ ।
  • कृषक तथा युवाहरुलाई आधुनिक कृषि प्रविधि तथा प्रसारको पहुँच बढाउनको लागि युवा लक्षित कार्यक्रमहरु  सञ्चालन गरिनेछ । कृषकहरुलाइ विभिन्न प्रकारका वेर्ना वितरणका लागि नर्सरी व्यवस्थापन गरिनेछ । मागमा आधारित विरुवा वितरण गरिनेछ ।
  • कृषि प्रसार सेवालाई समयानुकूल कृषकहरुको पहुँचसम्म सहज र सरल तरिकाले विस्तार गरिने छ साथै कृषकहरुको माग र आवश्यकता अनुसार स्थलगत घुम्ती तालिम सञ्चालन गरिनेछ ।
  • उच्च मूल्यका नगदे तथा खाद्य बालीहरुको सामूहिक उत्पादनलाई जोड दिंदै वैज्ञानिक तथा जलवायु अनुकूल कृषि प्रविधि अपनाई एक वडा/एक उत्पादन कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिनेछ ।
  • कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि गरी कृषि फर्म, कृषक समूह, सहकारी तथा उद्यमीहरुसँग समन्वय तथा सहकार्य गरी कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइनेछ ।

युवा तथा महिलालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै तोरी, बेसार अलैचि कफि चिया  जस्ता कृषि बालीहरुको उत्पादन, प्रशोधन, ब्राण्डिङ र प्याकेजिङ् गरी साना उद्यमहरुको स्थापना गर्दै दिगो बजारीकरणमा सहयोग पुर्‍याइनेछ ।

  • बढ्दो रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक मल प्रयोगमा प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनमा जोड दिइनेछ, साथै अन्य रासायनिक मल तथा विषादीको उपयोगलाई निरुत्साहित गर्दै एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (IPM) का माध्यमबाट कृषकहरुको क्षमता अभिवृद्धि गर्दै लगिने छ ।
  • कृषकलाई कृषिको हरेक क्षेत्रमा पहुँच बढाउनको लागि दिगो र बजारको माग अनुसारको कृषिजन्य वस्तु उत्पादन गरी व्यावसायिक कृषक बन्नको लागि वडा-वडामा कृषि व्यवसाय दर्ता शिविर सञ्चालन गरिनेछ ।
  • कृषि पेशालाई सम्मानको पेशाको रुपमा विकास गर्दै युवाहरुलाई कृषि पेशामा आकर्षित गराउन खाद्यान्न, तरकारी र मसला बालीको उत्पादनमा प्रोत्साहन अनुदान तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
  • स्थानीय आवश्यकता र प्राथमिकता अनुरुपको कृषि बीमा, कृषि योजना तर्जुमा, कार्यान्वयन र अनुगमनको कार्यमार्फत स्थानीय निकायहरुलाई जिम्मेवार र सक्षम बनाईनेछ ।
  • कृषि क्षेत्रको योजना तर्जुमा, नीति निर्धारण तथा अनुगमन मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क संकलन, विश्लेषण र प्रक्षेपण कार्यलाई सुधार गरिनेछ । साथै कृषि क्षेत्रको लागि अनुकूल मूल्य तथा व्यापार पद्दति स्थापित गराउन नियमित अनुगमन गरिनेछ ।

उद्योग, वाणिज्य र सहकारी

  • कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योग खोल्न नीजि क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम तयार गरी आवश्यक सहयोग गरिनेछ ।
  • कृषि व्यवसायको सवलीकरण तथा प्रवर्द्धनको लागि साझेदारीमा उपकरण वितरणलाई प्राथमिकता दिइनेछ ।
  • सहकारी क्षेत्रमा देखिएको विद्यमान अवस्थाबाट माथि उकास्न, सहकारी संस्थाको हिसाबकिताबलाई चुस्त र दुरुस्त राख्न सबै सहकारी संस्थाहरुलाई COPOMIS प्रणालीमा आबद्ध गराइ सकिनेछ ।
  • सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिनेछ ।
  • राम्रो र उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरिनेछ ।
  • नीजि क्षेत्रका लगानीकर्ताको लगानी सुरक्षाको कार्यक्रम तयार गरिनेछ ।
  • एक घर एक सहकारी सदस्य भन्ने नारालाई निरन्तरता दिइनेछ ।
  • सहकारी संस्थाहरुलाई उद्देश्यमा आधारित कार्यक्रम गर्न प्रोत्साहन गरिनेछ ।
  • गाउँपालिका भित्र सञ्चालित दर्ता प्रक्रियामा छुटेका उद्योग/व्यवसायहरुलाई अनिवार्य दर्ता तथा नविकरण प्रक्रियामा ल्याइनेछ ।

सिंचाई

  • साना सिंचाई कार्यक्रम अन्तर्गत १६ वटा सिंचाई कुलोहरु मध्ये केहि सम्पन्न भइ सञ्चालनमा आइसकेका, बाँकी आयोजनाहरुको ८० % कार्य सम्पन्न भई सञ्चालन हुने चरणमा रहेका छन । आगामी आ.व. मा २ वटा थप सिंचाई कुलोहरु सञ्चालन गरिनेछ
  • प्रदेश सरकार मार्फत होयाङ्मा खोला सिंचाई कुलो निरन्तरता हुनेछ र डाँडे कुलो सिंचाई आयोजनाको ठेक्का प्रकृया अगाडी बढ्नेछ, सिम्ले सिंचाई आयोजना सम्पन्न हुनेछ । सटके दोभान फाकफोक खोला साप्तिन रुपाटार सिंचाई कुलोको सम्भाव्यता अध्ययन हुनेछ ।
  • अन्य साना सिंचाई योजनाहरुको समेत मर्मत सम्भार कार्य अगाडि बढाइनेछ ।
  • पालिकाभित्र संचालन हुने अन्य ठूला सिंचाई योजनाहरुलाई संघ र प्रदेश सरकार मार्फत संचालन गर्न निरन्तर पहल र प्रयत्न गरिनेछ ।

पशुपालनतर्फ

  • पशुपालन व्यवसायलाई वृद्धि गर्दै कार्यालयको सेवा प्रवाहलाई थप गुणस्तरिय बनाउन पशु अस्पताल निर्माण कार्यलाई पूर्णता दिइनेछ ।
  • विगतका वर्षहरुदेखि सञ्चालनमा रहेको पशुसेवा शाखाबाट औषधि वितरण तथा आकस्मिक सेवा प्रवाह कार्यक्रमलाई निरन्तरता दिईने छ ।
  • प्राणघातक रेबिज रोगको न्यूनीकरण गर्न घरपालुवा तथा सामुदायिक कुकुरहरुमा रेबिज विरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिईनेछ ।
  • कृषकहरुको बृहत्तर आम्दानीको श्रोत पशुपालनबाट दुग्ध उत्पादन वृद्धि गर्नको लागि हाल सञ्चालनमा रहेको नश्लसुधार कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • दुग्धजन्य पदार्थको अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा योग्य बनाउन छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • दुग्ध तथा मासुजन्य पदार्थको निर्यातमा सहजता ल्याउन खोरेत रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ साथै पिपिआर, स्वाईन फिवर र लम्पी स्किन जस्ता खोप कार्यक्रमलाई निरन्तरता दिईने छ ।
  • पशुपंन्छी उपचार तथा प्राविधिक परामर्श सेवालाई प्रभाकारी बनाउन नीजि क्षेत्रका प्राविधिकहरुसँग समन्वय गरि सेवा प्रवाहको गुणस्तरमा वृद्धि गरिने छ ।
  • फाकफोकथुम गाउँपालिकाको आर्थिक उन्नतिको मेरुदण्ड पशुपालन व्यवसाय भएकोले किसानहरुलाई प्रोसाहन गर्दै विभिन्न रोग न्यूनीकरण गर्न गोठ/खोर सुधार र पशु घाँस आपूर्तिमा वृद्धि गर्दै उत्पादन वृद्धि गर्न मोटरसहितको च्यापकटर वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
  • पशुधनको सुरक्षाका लागि पशु बिमा कार्यक्रमको बारेमा प्रचार प्रसारका लागि कार्यक्रम सञ्चालन गरिने छ ।
  • पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्दै हरियो घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत घटाउन उन्नत कोशे तथा अकोशे डाले तथा भुइँ, वर्षे तथा बहुवर्षे घाँस खेतीलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।
  • पशुपालन व्यवसायबाट उत्पादित उपजमा फाकफोकथुमको पहिचान राख्न आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
  • गाईपकेट कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गरी पशुपालन सहकारीसँगको साझेदारीमा गरिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।

स्वास्थ्य क्षेत्र

  • आम नागरिकहरुलाई स्वास्थ्य सेवाको गुणस्तर र पँहुच अभिवृद्धि गरिनेछ ।
  • स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको पहुँचसम्म पुर्‍याउन थप पहल गरिनेछ ।
  • गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको क्षेत्र विस्तार गरिनेछ ।
  • आर्थिक रुपमा विपन्न तथा आम नागरिकहरुको स्वास्थ्यमा पँहुच अभिवृद्धि गर्न विशेषज्ञ सेवा प्रदायक अस्पतालहरुसँगको समन्वयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (HMIS) चुस्त, दुरुस्त राख्न स्वास्थ्य संस्थाहरुलाई डिजिटाइट प्रविधितर्फ क्रमशः विस्तार गर्दै लगिनेछ ।
  • नसर्ने रोगहरुको समयमै स्क्रनिङ गरी उपचारको दायरामा ल्याउने कार्यलाई प्रभावकारी रुपमा अघि बढाइने छ ।
  • महिलाहरुको पाठेघरको जाँच गरी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • क्षयरोग नियन्त्रण गर्नका लागि समुदायमा ए.आइ. एक्स-रे प्रबिधिबाट क्षयरोगको स्क्रिनिङ गरिनेछ ।
  • बालबालिकाले जन्मेको १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • आयुर्वेद उपचार पद्धतिलाई प्रवर्दन गरि जनस्वास्थ्य सेवालाई अभिवृद्धि गरिनेछ ।
  • योग विधि मार्फत दीर्घरोगको न्यूनिकरण गर्न सवै वडामा योग शिविर सञ्चालन गरिनेछ ।
  • निर्माणाधिन १५ शैयाको अस्पताललाई समयमै सम्पन्न गरी विशेषज्ञ सेवा सहितको आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
  • कियोच दमक बाल अस्पतालसँगको सहयोगमा बालबालिकाको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरिनेछ ।
  • गत चैत्र १ र २ गते संचालित बृहत स्वास्थ्य शिविरवाट मुटुको अप्रेसन गर्न सिफारिस भएका मध्ये ३ जना सहित हालसम्म ५ जना नागरिकहरुको निशुल्क अप्रेसन सफल भइ सकेको छ । वाकी विरामीको आगामी बर्षभित्रमा निशुल्क अप्रेसन सम्पन्न गरिनेछ भने अन्य विरामीको समेत सहुलियतमा उपचार हुने व्यवस्था मिलाइनेछ ।   खानेपानी तथा सरसफाई

फाकफोकथुम गाउँपालिकाको हरेक वडाहरुमा स्वच्छ खानेपानी व्यवस्था मिलाउन साथै बजार क्षेत्रका फोहोर व्यवस्थापन गर्न आ.व. २०८२।०८३ मा तपसिल बमोजिमका नीति बनाई कार्यान्वयन गरिनेछ ।

  • एक घर एक धारासहित सफा, स्वच्छ र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने कार्यक्रमलाइ निरन्तरता दिइनेछ  । चालु र क्रमागत योजनाहरु सम्पन्न गरी सम्बाव्यताका आधारमा प्राथमिकतामा परेका बाँकी योजनाहरु कार्यन्वयनमा ल्याइनेछ ।
  • वडा नं. ३ मा संघीय सरकारबाट प्राप्त खानेपानी आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनालाई सम्पन्न गराई आवश्यक मापदण्ड बनाई कार्यान्वयन गरिनेछ ।
  • फाकफोकथुम गाउँपालिका वडा नं. ५ मा संघीय सरकारबाट प्राप्त बिशेष अनुदान मार्फत खानेपानी आयोजनाको कार्य सुरु गरिनेछ ।
  • बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी टोलस्तरिय तथा वडास्तरिय खानेपानीका आयोजनाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • गाउँपालिका स्तरीय तथा वडास्तरिय सिलिङ बजेट मार्फत साना खानेपानी, पाइप खरिद तथा वितरणका कार्यहरु गरिनेछ ।
  • पञ्चमी बजार, आमचोक बजार, नवमी बजार, शिकारी भञ्ज्याङ तथा अन्य क्षेत्रबाट निस्कने फोहोरलाई डम्पिङ साइटको व्यवस्था गरी फोहोर व्यवस्थापनको कार्य गरिनेछ ।

 

पर्यटन, साहित्य, कला

  • ज्ञानदिलदासको जन्मस्थानको प्रचारप्रसार हुने र ज्ञानदिलदासको जन्मभूमिलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुर्‍याउने यस कार्यक्रमलाई महत्वका साथ अघि बढाइनेछ ।
  • यहाँका धार्मिक, साँस्कृतिक सम्पदाहरुको माध्मयबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पर्यटकीय क्षेत्रको पहिचान गरी भौतिक संरचना निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
  • जलाधार, पानी श्रोत र सिमसार क्षेत्रको संरक्षणका कार्यक्रमलाई निरन्तरता दिईनेछ । जलाधार संरक्षण तथ
  • पोखरी निर्माणका लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय तथा सव डिभिजन वन कार्यालयको साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • लुम्दे खड्कुडे झिलमा पर्यटन पूर्वाधार अगाडी बढाइनेछ । धापसिम सिमसार तथा बागमती सिमसारलाई थप व्यवस्थित गर्नका लागि पहल गरिनेछ ।
  • विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिहरुको प्रवर्द्धन गरिनेछ।
  • गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री निर्माण, प्रसारण र व्रोशर हरुको वितरण गरिनेछ।
  • गाउँपालिकामा उत्पादन हुने तोरी, गुन्द्रुक, अकबरे खोर्सानीको ब्रान्डिङ, प्रचार-प्रसार गरी उत्पादनमा जोड दिइनेछ ।
  • धार्मिक प्राकृतिक र ऐतिहासिक धरोहरहरुको पर्यटन प्रवर्धनको लागि आवस्यक कार्यनीति निर्माण गरी लागु गर्ने ।

महिला, बालबालिका, समाजकल्याण तथा लैङ्गीक समानता

  • स्थानीय उध्यमशिल महिलाहरुलाई कृषि र पशुपालनका साथै अन्य कृषिमा आधारित उध्योग संचालन गर्न प्रोत्साहन गरिनेछ ।
  • लक्षित वर्गहरुलाई समूह र सहकारी मार्फत ऋण तथा अनुदानका कार्यक्रममार्फत उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आगामी आ. व. देखि हिंसापीडित महिलालाई कानुनी सहायता र मनोपरामर्शको व्यवस्था मिलाइनेछ । दशै पालिकाको लगानीमा इलाममा निर्माण गरिएको सेफ हाउस मार्फत हिंसा पिडित महिलालाइ सुरक्षा प्रदान गराइनेछ ।
  • स्थानीयहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन बजरिकरणमा सहयोग पुर्याइनेछ ।
  • योजना निर्माणमा लक्षित वर्गको सहभागिता सुनिश्चित गर्दै लगिनेछ ।
  • गरिब तथा दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री (किताब, झोला, पोशाक) वितरण गरिनेछ र विद्यालय नपढ्ने बालबालिकाको खोजी गरी विद्यालय भर्ना गरिनेछ ।
  • बालबालिकाको सर्वाङ्गीण विकासको लागि माध्यमिक तथा आधारभूत विद्यालयमा बाल क्लबको गठन र सशक्तीकरणका लागि विशेष अभियान सञ्चालन गरिनेछ ।
  • एकल, अपाङ्ग, ज्येष्ठ नागरिहरुका लागि घर-घरमै सेवा पुर्‍याइनेछ ।

 युवा तथा खेलकुद क्षेत्र

  • खेलकूद नै स्वस्थ जीवनको मूल आधार हो भन्ने मान्यतालाई सार्थक बनाउन विभिन्न खेलकूद क्रियाकलापहरु सञ्चालन गर्न गरिनेछ ।
  • गाउँपालिकामा सुविधा सम्पन्न कवर्डहल निर्माण गर्न कार्य प्रारम्भ गरिनेछ ।
  • पालिकास्तरीय खेलकूद विकास समिति गठन गरी पालिकाबाट खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रलाई प्रवर्धन गर्दै लगिनेछ ।
  • विद्यालय तहदेखि खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • खेलकूद गतिविधिहरुमा सामुदायिक संलग्नता प्रवर्द्धन गर्न विभिन्न खेलकूद क्लबहरुसँग साझेदारी गरिनेछ ।
  • विभिन्न खेलकूद क्षेत्रका प्रतिभावान युवाहरुको पहिचान गरी सो को विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
  • खेलकूद क्षेत्रको विकासका लागि खेलाडीहरूलाई तालिम तथा प्रशिक्षणको प्रबन्ध मिलाइनेछ ।
  • राष्ट्रपति रनिङ्गशिल प्रतियोगितालाइ निरन्तरता दिइनेछ ।

पञ्जीकरण सेवा इकाईतर्फ

  • दर्ता शिविरःराष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्ष भत्ताको दर्ता तथा नवीकरण, बायोमेट्रिक रुजु, व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
  • राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गर्न तथा फोटो खिच्न छुट भएका लाभग्राहीहरुका लागि शिविर संचालन भइ रहेको छ आगामी आ वमा आ.व. २०८२/०८३ मा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गर्ने शिविर सञ्चालन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुको जैविक विवरण पहिचान गर्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएकोले भत्ता पाउने लाभग्राहीलाई स्वयं उपस्थित गराई सबै वडामा राष्ट्रिय परिचयपत्रको नम्बर सहित बायोमेट्रक रुजु गराई लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ताको दर्ता नविकरण सम्पन्न गरिनेछ ।
  • बायोमेट्रिक उपकरण खरिद (आँखाको IRIS उपकरण) – सामाजिक सुरक्षा भत्ताको दर्ता नविकरण गर्दा औँठाछापबाट बायोमेट्र रुजु नभएका लाभग्राहीहरुका लागि (आँखाको iris उपकरण खरिद गरिनेछ ।
  • घटना दर्ता सप्ताह कार्यक्रम – हरेक बर्षको वैशाख महिनाको १ गते देखि ७ गतेसम्म मनाईने व्यक्तिगत घटना दर्ता सम्बन्धी घटना दर्ता सप्ताह एफ.एम.मिडिया तथा पत्रपत्रिकाहरुमा घटना दर्ता सम्बन्धी जानकारीहरु छपाउने तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरी मनाइनेछ ।

पूर्वाधार विकासतर्फः

यस गाउँपालिकाले गाउँपालिकावासीको जीवनयापनलाइ सहज बनाउँने गरी सडक, उर्जा, सिचाँई पूर्वाधारको बिकासलाई उच्च प्राथमिकता दिइएको छ । पूर्वाधार विकासका लागि निम्नानुसारका नीति तथा कार्यक्रमको निर्धारण गरिएको छ ।

  • गाँउपालिका केन्द्र सँग जोडिने तथा राष्ट्रियस्तर/प्रदेश स्तरका सडक सञ्जाल सँग जोडीने सडकहरु आंशिक रुपमा बाह्रमासै भएका छन । ती सडकहरुको थप स्तरोन्नति गर्ने कार्य गरिने छ । जसका लागि रवि आमचोक सडक, आमचोक संकरचोक ठिङ्गेपुर खाम्बाङ सडक, पसल कोलबोटे साप्तिन सडक, अन्तरेडाँडा जालपा कैदले सडक गाउँपालिका मार्फत थप स्तरोन्नति गरिनेछ ।
  • संघीय सरकार मार्फत फुएतप्पा आमचोक कोलबोटे एकतप्पा मंगलबारे सडक, देउराली नवमी जालपा कैदले सडकको थप स्तरोन्नति गरिनेछ । विगतको कृषि सडकहरुलाई फाकफोकथुम खण्डमा कार्य गर्नका लागि सम्बन्धीत कार्यालयसँग समन्वय गरिने छ ।
  • प्रदेश सरकार मार्फत फाकफोक दोभान आङ्चेरे फुएतप्पा आमचोक सडक, शिकारी भञ्ज्याङ खनाल गाउँ हुदै मिश्र भञ्ज्याङ सडक, सप्तमी भण्डारी खोप बरबोटे सडक, पसल फूस्रे कोलबोटे अस्पताल हुदै साप्तिन सडक, पञ्चमी तमाखे पुछार ठिङ्गेपुर सडक, फलाँटे तिलपुङ ६ नं वडा कार्यालय सडक, देउमाई खोला जट्टेश्वर रुपाटार फुएतप्पा सडक, उत्तरे गोलटार संकरचोक चेम्जोङ गाउँ सडक, आमचोक त्रिवेणी कन्सिरि जलरी गाउँ तिवाखोला मिक्तोक दोकानडाँडा सडक, बिष्णु मा.वि. तालखर्क लोख्र्म्बा पिपलबोट सडक, दशमी कुवापानी अमले गाउँ नाती घुम्ती सडक, फलाँटे पुतली खर्क घुर्बिसे पञ्चमी सडक लाई थप स्तरोन्नति गरीनेछ । राँके गैडे सडकलाई समयमा नै सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा सरोकारवाला सँग समन्वय गरीनेछ । माथि उल्लेख नभएका स्थानीय सडकहरु गाउँपालिका तथा वडास्तरिय सिलिङ मार्फत मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्य गरिनेछ ।
  • प्रदेश सरकार मार्फत थावा खोलामा ब्रिज निर्माण सुरु गरिनेछ । राँके गैडे सडक अन्तर्गत फाकफोक खोलामा पक्की पुल निर्माण सुरु गरिनेछ । रबि आमचोक सडक अन्तरगत मुगे खोलामा र फाकफोक खोलाको ज्यामिरेमा पक्की पुल निर्माणको प्रकृया सुरु गरिनेछ ।
  • शिकारी भञ्ज्याङ बजारलाई सौन्दरीकरण सुरु गरिनेछ ।
  • गाउँपालिका क्षेत्र भित्रका अन्य सडकहरुको नियमित रुपमा मर्मत सम्भार गर्नका लागि आवश्यक बजेटको साथै समपुरक कोषको व्यवस्था गरिनेछ ।
  • विभिन्न उपभोक्ता समिति तथा निर्माण व्यवसायीवाट आयोजना सञ्चालन गर्दा निर्माणाधीन अवस्थामा रहेका पूर्वाधारमा क्षति भएमा सम्बन्धित उपभोक्ता समिति तथा निर्माण व्यवसायीवाट मर्मत तथा संभार गर्न लगाइने छ ।
  • अत्यावश्यक पूर्वाधारको अभाव रहेका स्थानहरुमा नयाँ पूर्वाधार निर्माण गरिने छ । विद्ममान पूर्वाधारको क्षमता विस्तार, गुणस्तर सुधार, स्तरवृद्धि एवम समयमानुकुल मर्मत सम्भार गरिने छ ।
  • गाउँपालिका भित्र निर्माण गरिने सबै प्रकारका पक्की भवनहरुलाई अनुगमन गरि सुरक्षित बालमैत्री, अपाङ्गमैत्री बनाउनेतर्फ जोड दिइनेछ ।
  • भूउपयोगी नीति तयार गरि लागू गरिने ।
  • एकीकृत जग्गा विकास योजना तयार गर्न पहल गरी भूमीलाई आवास क्षेत्र, औधोगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, सिमसार क्षेत्रमा विभाजन गरी सोही अनुरुप भू-उपयोग गर्ने नीति लिईने छ।
  • विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक तथा प्राचिन नामहरुको खोजी गरि तिनको पुनःस्थापना गर्ने, आधिकारिक नामाकरण हुन बाँकी टोल, बस्ती, सडक मार्ग, चोक, भवन, स्मारकहरुको नामाकरण गर्ने र अन्य निकायबाट नामाकरण गर्दा गाउँपालिकाको स्वीकृति लिनुपर्ने व्यवस्था मिलाईनेछ ।
  • विद्युत सेवा नपुगेका ग्रामिण क्षेत्रका नागरिकहरुको घर-घरमा उज्यालो पुर्‍याउन गाउँपालिका भित्र विद्युतीकरण हुन बाँकी रहेका क्षेत्रमा विद्युत सेवा पुर्‍याउनको लागि विशेष पहल गरिने छ ।
  • प्रदेश र संघका विषयगत कार्यालयमार्फत सञ्चालन हुने योजनाहरुलाई गाउँपालिको योजना अनुरुप सञ्चालन गर्न आवश्यक समन्वय बढाइनेछ ।
  • एक घर एक धारासहित सफा, स्वच्छ र शुद्ध पिउने पानीको प्रबन्ध मिलाइनेछ । चालु र क्रमागत योजनाहरु सम्पन्न गरी सम्बाव्यताका आधारमा प्राथमिकतामा परेका बाँकी योजनाहरु कार्यन्वयनमा ल्याइनेछ ।

सूचना सञ्चार तथा प्रविधिः

  • हरेक वडा, स्वास्थ्य संस्था, विद्यालयहरुलाई केन्द्रिकृत गर्न, सुशासन, सुरक्षा कायम राख्न तथा आम नागरिकमा सूचनाको हक सुरक्षित गर्न इन्ट्रानेटको विस्तार गरिने छ ।
  • डिजिटल गभरमेन्सको अवधारणा अगाडी बढाउन हरेक वडाहरुमा सि.सि. क्यामेरा तथा आई.पी. फोन जडान गरिनेछ । गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थाहरुमा ई-हाजिरी जडान कार्य अगाडी बढाइनेछ ।
  • गाउँपालिकाको सूचना तथा जानकारी डिजिटल माध्यमबाट सम्प्रेषण गर्ने कार्य वेवसाइट, सामाजिक सञ्जाल मार्फत गर्ने कार्य हुदै आएको छ । सो कार्य जनमुखी बनाउन आवश्यक डिजिटल साक्षरतालाई जोड दिइनेछ ।
  • कर्मचारी तथा शिक्षकहरुलाई समयसापेक्ष सक्षम बनाउन बिभिन्न समयमा सूचना प्रविधिसँग सम्बन्धित तालिमहरु सञ्चालन गरिने छ ।
  • सूचनाको हक, विद्युतीय शासन, कम्प्युटर तथा दुरसञ्चार प्रविधि, आर्टिफिसियल इन्टिलिजेन्स, सूचना प्रविधिको सदुपयोग, साइबर अपराध लगायत सूचना प्रविधिसँग सम्बन्धित बिषयहरु समेटेर आ.व. २०८२।०८३ मा हरेक माध्यमिक विद्यालयहरुका विद्यार्थीहरुलाई कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

भूमि व्यवस्थापन तथा सर्वेक्षण

  • भू-उपयोग नक्सा तथा क्षेत्र अद्यावधिक गर्ने कार्यलाई यसवर्ष पनि निरन्तरता दिइनेछ ।
  • भू-उपयोग ऐेन २०७६ नियमावाली २०७९ र स्थानिया भू-उपयोग परिषदले गरेको भूमीको वर्गीकरणमा छुट भएका र निवेदकको निवेदन बमोजिम क्षेत्र परिवर्तनका लागि एक पटकका लागि स्थलगत अनुगमन गरि आवश्यक राय सहित भू-उपयोग नक्सा तथा कित्तागत विवरण परिवर्तन गरिनेछ ।
  • “मेरो कित्ता” अनलाइन सेवा यसै आ. व. देखि सञ्चालनमा ल्याइनेछ । यस सेवा मार्फत सेवाग्राहीहरुले आवश्यक कित्तानापी नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपी आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्ने छन् ।
  • भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको Online प्रणालीमा Data Entry गर्ने कार्यलाई प्राथमिकता दिई जग्गाधनी प्रमाण पत्र वितरण कार्यलाई अघि बढाइनेछ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन

  • स्थानीय उपभोक्ता र सवडिभिजन वन कार्यालयसँगको साझेदारीमा वृक्षारोपण कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
  • सव डिभिजन वन कार्यालयको साझेदारी र गाउँपालिकाको समन्वयमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीय उपभोक्ताहरुलाई वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गरिनेछ ।
  • वडा नं ६ का पहिरो पिडित घर परिवारलाइ स्थानान्तर गर्न सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्य अगाडी बढाइनेछ ।
  • विपद प्रभावितहरुको लागि तत्काल खोज, उद्वार तथा राहतमा सहयोग पुर्‍याउने नीति अगाडि बढाइनेछ ।
  • सामूदायिक वनको संरक्षण र सम्बर्द्धनका लागि जिल्ला वन कार्यालय र सव डिभिजन वन कार्यालयको समन्वयमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरिनेछ ।
  • वातावरण स्वच्छ, हराभरा राख्न दिगो फोहोरमैला व्यवस्थापनको नीतिलाइ निरन्तरता दिइनेछ ।
  • वन र जैविक विविधता संरक्षण र विकासलाई उच्च प्राथमिकता दिइनेछ ।

रोजगार सेवा केन्द्रः

  • कृषि र अन्य क्षेत्रमा जनशक्तिलाई व्यवसायिकरण गर्दै आन्तरिक रोजगारको सिर्जना गरी वैदेशिक रोजगार व्यवस्थापनलाई थप परिस्कृत गर्दै सीप विकासको प्रवर्द्वन गरिनेछ ।
  • रोजगार सेवा केन्द्रलाई रोजगारीको हवको रुपमा विकास गर्नका लागि श्रम, श्रमिक, रोजगारदाता तथा सुचिकृत बेरोजगार व्यक्तिलाई सीप विकासको माध्यमबाट स्वरोजगार बनाउन अभिप्ररेरित गरिनेछ ।
  • फाकफोकथुम गाउँपालिकाले इलाम नगरपालिका १ साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्यूटको प्राविधिक सहयोग तथा सहकार्यमा युवाहरुलाई व्यवसायिक सीप विकासको तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
  • नागरिकहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता अभिवृद्धि हुँदै गएकाले प्रत्येक वडामा योजना सञ्चालन कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।

आर्थिक प्रशासनतर्फ

  • राजश्व संकलन/भुक्तानी लगायतका सम्पूर्ण कार्य नेपाल सरकारबाट प्राप्त स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SUTRA- EFT)/राजश्व संकलन प्रणाली (sutra-revenue) पूर्ण रुपमा लागु गरिने छ ।
  • सेवाग्राहीलाई चेक प्रणालीमार्फत भुक्तानी दिने प्रक्रियालाई पूर्णत वन्द गरी EFT प्रणाली लागू गरिएको छ ।
  • सुशासन कायम राख्न सार्वजनिक सम्पति व्यवस्थापन प्रणाली (PAMS) पूर्ण रुपमा लागु गरीनेछ ।

सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास

  • सार्वजनिक सेवा प्रवाह सहज, सरल, छिटो छरितो तथा झन्झट रहित हुनुपर्छ भन्ने मुल मान्यतालाई मध्यनजर गर्दै अघिल्ला आ.व. हरुमा झै आगामी आ.व. २०८२।०८३ मा योजना तथा कार्यक्रम सम्झौता वडास्तरबाट सञ्चालन गरिनेछ । कागजात व्यवस्थापनको कार्य झन्झट रहित बनाउने उद्देश्यले आ.व. २०८२।०८३ मा योजनाको सम्पूर्ण प्रकृया पुरा हुने गरी एकिकृत योजना पुस्तक छपाई गरी अभिमुखिकरण तालिम सञ्चालन गरिने छ ।
  • डिजिटल समयको सदुपयोग स्थानीय स्तर सम्म पुर्‍याउने उद्देश्यले योजना तथा कार्यक्रम सँग सम्बन्धित सम्पूर्ण प्रकृयाहरु समेटेर डिजिटल पद्धतिको सुरुवात गरिनेछ ।
  • योजना तथा कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन गर्नु स्थानीय लाभग्राहि जनताको कर्तव्य हो, कानुनत् व्यवस्था समेत गरिएको पक्ष हो । स्थानीयस्तरमा संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने सम्पूर्ण योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन स्थानीय स्तरबाट प्रभावकारी हुने गरी व्यवस्था गरिनेछ ।
  • दिगो विकासको अवधारणा सार्थक बनाउन निर्मित सार्वजनिक सम्पतिको संरक्षण तथा संवर्द्धन गर्नु सबैको कर्तव्य हो । उक्त कर्तव्य परिपालना गर्न आ.व. २०८२।०८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरु गाउँपालिकामा दर्ता गरीएका उपभोक्ता समिति, संस्था, सञ्जाल, फर्महरु मार्फत गराई अपनत्व ग्रहण गराउने कार्यलाई जोड दिन आवश्यक नीति, कार्यविधि तथा मापदण्ड मिलाइनेछ ।
  • दक्ष कामदारको अभावले गाउँपालिका भित्र सञ्चालन हुने योजना तथा कार्यक्रममा बाहिरबाट कामदार भित्र्याउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै बिभिन्न तालिम प्रदान गर्ने संघ संस्थाहरुसँग प्राविधिक सहयोग लिई बिभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गरी दक्ष कामदार उत्पादन गर्ने व्यवस्था मिलाइनेछ ।
  • सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउँदै सुशासनको प्रत्याभूति गराइनेछ ।
  • स्थानीय निकायका स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरी कर्मचारीहरुलाई थप जिम्मेवार बनाइनेछ ।
  • भ्रष्टचारको अन्त्यका लागी शुन्य सहनशिलताको नीतिलाई निरन्तरता दिइनेछ ।
  • पदाधिकारी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।
  • राजश्वको दायरा फराकिलो बनाउँदै गाउँपालिकाको श्रोत वृद्धि गरिनेछ ।
  • गाउँपालिकाको चालु खर्चलाई पारदर्शी बनाउँदै नियमित रुपमा फेसबुक पेज, वेभसाइट र सूचनापाटी मार्फत सार्वजनिक गरिनेछ ।
  • सवै प्रकारका धर्म, संस्कृतिको समान विकासका लागि कार्यक्रम तय गरिनेछ ।
  • महामारीजन्य र प्रकोपजन्य रोगबाट बच्न सचेतना लगायत आवश्यक कार्यक्रम तयार गरिनेछ ।
  • सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुलाई प्रोत्साहन गरिनेछ ।
  • जेष्ठ नागरिकको ज्ञान सीपलाई युवा पुस्ताको जोशमा हस्तान्तरण गर्न जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडी बढाइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण कार्यक्रम र रोजगारीका कार्यक्रम तयार हुने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्दै सम्मानपूर्ण जीवनयापनको वातावरण सुनिश्चित हुने कार्यक्रम संचालन गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिको विविधताको पहिचानसहित गुणस्तरीय शिक्षा, खेलकूद, संस्कृति, साहित्य, कला, सङ्गीत, नृत्य र मनोरञ्जनको पहुँच सुनिश्चित गरी सबल, सक्षम र प्रतिस्पर्धी नागरिक तयार गर्दै लैजाने नीति अवलम्बन गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिको स्वास्थ्योपचारका लागि खर्च र आवश्यकता अनुसारका सहायक सामग्री गाउँपालिकाबाटै प्रबन्ध मिलाइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिको क्षमताका आधारमा उनीहरुलाई रोजगारीको प्रबन्ध मिलाइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक सार्वजनिक समितिहरुमा उनीहरुको अर्थपूर्ण सहभागिताका लागि अनिवार्य समावेश गरिनेछ ।
  • गा.पा.बाट सञ्चालित योजनाका कार्यक्रमबाट रोजगारीको व्यवस्था गर्ने कार्यक्रमलाई थप प्रभाकारी बनाइनेछ ।
  • सामाजिक न्याय स्थापित गर्न न्यायिक समितीको कार्यलाई छिटो छरितो र जनमुखी बनाईनेछ ।
  • मेलमिलाप समितीको क्षमता अभिबृद्धि गरिनेछ ।
  • लैङ्गिक हिंसा, घरेलु हिंसा विरुद्ध विभिन्न चेतना मूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ ।
  • दहत्तर बहत्तदर व्यवस्थापनको नीति अवलम्वन गरिनेछ ।
  • वृद्धिमुखि उद्यमशीलता र रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • कर तिर्ने अभ्यासका लागि नागरिकलाई प्रोत्साहन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • कर राजश्व प्रभावकारी परिचालन गर्नका लागि थप ऐन नियम कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • करको दररेट तथा दायरा निर्धारणलाई व्यवहारिक, वैज्ञानीक तथा समयसापेक्ष बनाई कार्यान्वयन गरिनेछ ।
  • राजश्व संकलन कार्यलाई प्रविधिमैत्री बनाउदै मोबाइल एप्लिकेसन तथा अनलाईन प्रणाली मार्फत सहज र सुलभ तवरले राजश्व दाखिला गर्ने व्यवस्था मिलाइनेछ ।
  • स्थानिय सञ्चार निति निर्माण गरी कार्यान्वयन गरिनेछ । स्थानीय सञ्चार माध्यममा लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रशारण गरिनेछ ।
  • संचारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासघ इलामले स्थापना गरेको पत्रकार राहत कोषमा अनुदान सहयोग उपलब्धता गराइनेछ ।

दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण नीति

  • गरिबीको अन्यः सबै ठाउँबाट सबै प्रकारको गरिबीको अन्त्य गर्ने ।
  • गुणस्तरीय शिक्षाः सबैका लागि समावेशी तथा समानुपातिक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने ।
  • दिगो उपभोग र उत्पादनः दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने ।
  • दिगो विकास लागि साझेदारीः दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि साधन र श्रोत सुनिश्चित गर्ने ।

भौतिक पूर्वाधार विकासमा सार्वजनिकनीजि साझेदारी नीति

  • सार्वजनिक पूर्वाधार तथा सेवाहरुको गुणस्तरीय र दिगो विकास गर्ने लक्ष्य राखिएको छ ।
  • साझेदार संस्थाहरुसँग लगानीको सुनिश्चितता गरिनेछ ।
  • सार्वजनिक तथा नीजि क्षेत्रको खर्च व्यवस्थापन कानुन बमोजिम गरिनेछ ।
  • आयोजना कार्यन्वयन गर्ने सार्वजनिक तथा नीजि साझेदार निकायहरुको जनशक्तिको क्षमता विकास गर्न विभिन्न तालिम, गोष्ठी, भेला, सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

समानुपातिक समावेशी नीति

  • महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी जनजाति लक्षित समावेशी नीति तयार गरिनेछ
  • स्थानीय संघसंस्था, उपभोक्ता समितिलगायतका समितिहरुमा समानुपातिक समावेशीताको आधारमा गरिनेछ ।
  • सेवा प्रवाहमा लक्षित वर्गलाई प्राथमिकता दिइनेछ ।

वातावरणमैत्री नीति

  • पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री बनाइनेछ
  • हरियाली तथा सौन्दर्य प्रवर्द्धन नीति लिइनेछ ।
  • पिउने पानीको लागि शुद्धिकरणका उपायहरु अवलम्बन गरिनेछ ।
  • भवन निर्माण संहिताको पूर्ण पालना गरिनेछ ।

                                                              दिपेन्द्र खनाल

                                                              गाउँपालिका अध्यक्ष

 

 

उपाध्यक्ष कल्पना राईद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार