पाँचथर :सडकको नाम ‘मायालु’ राखेर माया दिने नाटक भयो, तर व्यवहारमा मायालिन्जेल कसैले नजर फर्काएनन्। संघीय सरकार र एशियाली विकास बैंकको सहकार्यमा पाँचथरको फिदिम–घुर्बिसे पञ्चमी जोड्ने ३३ किलोमिटर लामो ग्रामीण सडक आयोजना सुरु भएको झण्डै सात वर्ष बितिसक्दा पनि काम अधुरो छ, सपना अधुरो छ, पीडा भने सिंगो भूगोलमा फैलिएको छ।
२०७४ साल चैतमा करीब ४० करोड लागतमा ‘स्वछन्द कन्कई जेभी’ कम्पनीले निर्माण थालेको साम्दिन–नवमीडाँडा खण्डमा करिब १४.८ किलोमिटर सडक कालोपत्र भइसके पनि नवमीडाँडा–घुर्बिसे खण्डको अवस्था भने विगतको जस्ताको त्यस्तै छ। निर्माणको नाममा पुल, कजवे र केही भित्ता नवमीडाँडासम्म बन्यो तर त्यसबाट अगाडी घुर्बिसे पञ्चमी खण्डमा भने यथार्थमा बाटो माटोले चिप्लिएको छ, सवारी नचल्ने भएको छ ।
‘मायालु’ नाम, तर पीडादायक यात्रा
मायालु सडकले साँचो अर्थमा मायालु हुन सक्ने आधार थियो । जोडिने दूरी छोटिने, कृषि उपजको ढुवानी सहज हुने, विद्यालय र कार्यालय जाने स्थानीयलाई सजिलो हुने। तर नवमीडाँडा–फाक्तेप–घुर्बिसे खण्डको करिब १८ किलोमिटर दूरी अझै अध्यारो सुरुङझैं बनेको छ। फाल्गुनन्द गाउँपालिका–५ को फाक्तेप र वडा नम्बर–१ सतेरुपाको बीचमा पर्ने निवुखोलामा २० मिटर लामो पक्की पुल बनेको हो, तर त्यसपछि बजेट नहुँदा बाँकी काम अलपत्र छ।
फाक्तेपको कोल्बुङदेखि पञ्चमी बजारसम्मको बाटो सवारी गुड्नै नसक्ने मटाइलो माटोले भरिएको छ। यही बाटो हुँदै हाल निर्माणाधीन प्रशासकीय भवनमा सामाग्री ढुवानी भइरहेकाले समस्याले दोब्बर भार थपिएको छ।

राजनीतिक पहुँच छ, तर प्राथमिकता छैन
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बे, प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वो ‘मौसम’, सांसद मैया श्रेष्ठ लावती र नेकपा एमालेका केन्द्रिय सदस्य अइन्द्रसुन्दर नेम्वाङ जस्ता नेता यही क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। तर पनि सडकको दयनीय अवस्थाले जनताको आक्रोश ती नेताहरूप्रति बढेको छ।
“नेताहरूले भाषणमा मात्रै विकास देखाउँछन्, हाम्रो हालत भने वर्षा लागेपछि जुत्ता बोकेर हिंड्नुपर्ने,” स्थानीय एक वृद्ध नागरिकको गुनासो छ।
विकासको असमानता, मायालुको उपेक्षा

पाँचथरकै फिदिम–फालोट सडक, फिदिम–यासोक सडक र उत्तरे–यासोक सडक केही निर्माण सम्पन्न, केही निर्माणाधीन छन्। तर मायालु सडकजस्तो रणनीतिक, मुख्य र सम्भावनायुक्त सडक ओझेलमा परेको छ। यस सडकले करिब १० किलोमिटर यात्रा छोट्याउने हुँदा यसले गाउँपालिकाभित्र आवागमन मात्र होइन, आर्थिक गति समेत ल्याउने थियो। तर निर्माण प्रक्रिया राजनीतिक प्राथमिकता र प्रशासनिक ध्यानको अभावमा ठप्प छ।




‘आँखा भएका अन्धा’ सरकारप्रति जनताको गुनासो
तीन दशक अगाडि नै खोलिएको यो सडक अहिलेसम्म कालोपत्रको पूर्णता नपाउँदा जनताले आफूलाई ‘अभागी’ महसुस गर्न थालेका छन्। योजनाको नाममा सुरु भएको काम, बजेटको बहानामा अलपत्र परेको देख्दा उनीहरूले अब सरकारसँग आशा गर्नु नै बेकार भएको प्रतिक्रिया दिएका छन्। नेपालका ग्रामीण सडक विकास योजनामा स्थानीय आवाजभन्दा ठेक्कापट्टाको हित, योजना तर्जुमा भन्दा राजनीति प्राथमिकता हाबी देखिन्छ। ‘मायालु सडक’ त्यो असमान विकासको स्पष्ट प्रमाण हो। अन्य ठाउँका भित्रि सडकहरु धमाधम स्तरोन्नती,अलवेदर र कालोपत्र भइरहँदा यो सडक भने सौताको सन्तान सरह बनेको स्थानीयको आरोप छ ।
