झापाका विभिन्न सञ्चारकर्मी प्रेस सेन्टर नेपालमा प्रवेश

  नयाँ बुलन्द
686 Shares

झापा :  झापाका विभिन्न सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।

प्रेस सेन्टर नेपाल झापाको आयोजनामा शनिबार दमकमा आयोजित कार्यक्रममा चन्द्रमान राईको नेतृत्वमा विभिन्न ६ जना सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् ।

मानुसी मिडिया प्रालिद्वारा सञ्चालित नेपाल एक्सप्रेस मिडियाका सञ्चालक राईको नेतृत्वमा गणेश भट्टराई, आयुस्मा परियार, उमेश खत्री, फ्रिपेश श्रेष्ठ र किस्मिका पोख्रेल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, केन्द्रीय सदस्य राम योङहाङ, पूर्वकेन्द्रीय सचिव विमल लामिछाने, प्रदेश सचिव डिकेश लामा, झापा अध्यक्ष पुष्पलाल खड्का, उपाध्यक्ष होमप्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै केन्द्रीय सदस्य आङ्बोले पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरणका लागि भूमिका निर्वाह गर्न अनुरोध गरे । उनले मुलुकको विभिन्न परिवर्तनमा पत्रकारहरुको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै सुशासन र समाजवादका लागि प्रेस सेन्टरको तर्फबाट अग्रणी भूमिका निर्वाह गर्न अनुरोध गरे ।

सो अवसरमा प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव राईले प्रेस सेन्टर नेपालको नीति, सिद्धान्त र उद्देश्यबारे प्रस्ट्याएका थिए । उनले पत्रकारहरूको हकहित र व्यावसायिकता अभिवृद्धिका लागि प्रेस सेन्टर नेपालले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नवप्रवेशी राईले आफ्नो मन्तव्य राख्दै पत्रकारिता क्षेत्रमा इमानदारी, सत्यतथ्य र जनपक्षीय विषयलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता जनाए  । उनले भने, ‘हामी प्रेस सेन्टर नेपालमा आबद्ध हुँदा अझै जिम्मेवार भएर पेशागत मर्यादा कायम राख्नेछौं र सामाजिक रूपान्तरणका लागि निरन्तर कलम चलाइरहनेछौं ।’

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्पलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार