माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई बुधबार चित्रेमा हुने

  नयाँ बुलन्द
91 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई आउँदो बुधबार (असार ११ गते) वडा सम्पर्क कार्यालय चित्रेमा हुने भएको छ ।

वडाबाट प्रदान गरीने सेवामा सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने, नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने एवम् जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने उद्देश्यले संचालन गर्न लागेको वडाअध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

विहान ११ बजेदेखि सुरु हुने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सारथि अनलाइन प्रालिले गर्नेछ ।

कार्यक्रममा वडा कार्यालयको तर्फबाट एक वर्षमा भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुनेछ ।

त्यस्तै सारथि अनलाइन प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।

त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ ।

त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् । वडा कार्यालयको  तर्फबाट वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, वडा सचिव हेमसागर घिमिरेलगायतले सेवाग्राहीको जवाफ दिनुका  साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेछन् ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने वडाको विश्वास छ ।

कार्यक्रममा उपस्थित हुन सम्पूर्ण वडाबासी सेवाग्राही एवम् सरोकारवालाहरुलाई वडा कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार