राष्ट्रिय स्वतन्त्र पार्टी इलामद्वारा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन र गृहमन्त्रीको राजीनामा माग

  नयाँ बुलन्द
231 Shares


इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला समितिले ‘भिजिट भिसा’ को दुरुपयोग गरी भइरहेको मानव तस्करीको गम्भीर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ। पार्टीले यस प्रकरणमा संलग्न दोषीलाई हदैसम्मको कारबाही, पीडितलाई संरक्षण र न्यायका साथै तत्काल गृहमन्त्रीको राजीनामा समेत माग गरेको छ।

ज्ञापनपत्रमा हालैका दिनमा हजारौं नेपाली नागरिक “भिजिट भिसा” को नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरू सार्वजनिक भइरहेको उल्लेख छ। रास्वपाले अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुऱ्याउने जस्ता गतिविधिहरू भइरहेको आरोप लगाएको छ। पार्टीले यी कार्यहरूलाई नेपाली राज्यव्यवस्था, कानुनी शासन र मानवअधिकारमाथिको गम्भीर प्रहारको संज्ञा दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयलाई संसदमा बारम्बार उठाउँदै आएको र यसका समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्दै आएको जनाएको छ। सोही सन्दर्भमा, इलाम जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउँदै निम्न बुँदाहरूमा तत्काल पहल गर्न आग्रह गरेको छ

रास्वपाका प्रमुख मागहरू:

* उच्चस्तरीय छानबिन समिति गठन: विगत केही वर्षमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठानिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताको आशंका रहेकाले यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरियोस्।

* कार्यसम्पादन समिति गठन: छानबिन समितिको कार्यक्षेत्र (TOR), संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न एक दिनभित्र कार्यसम्पादन समिति गठन गरी सो समितिले नै छानबिन समिति गठन गरोस्।

* पारदर्शी र तथ्यमा आधारित छानबिन: छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न हुने सुनिश्चित गरियोस्। छानबिन समितिले विशेष गरी नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण, मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी लगायतका व्यक्ति तथा संस्थाहरूको भूमिकाको निष्पक्ष अध्ययन र अनुसन्धान गर्ने, तथा पीडितहरूको संरक्षण र पीडितमैत्री पुनस्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव दिने कार्यमा केन्द्रित हुनुपर्ने माग गरिएको छ।

* दोषीलाई कडा कारबाही र पीडितलाई न्याय: छानबिनको सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गरियोस्। भिजिट भिसाका नाममा मानव तस्करमा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारबाही, पीडितहरूलाई संरक्षण, राहत तथा क्षतिपूर्तिको समेत सुनिश्चितता गरियोस्।

* गृहमन्त्रीको राजीनामा: मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक र प्रशासनिक जवाफदेहिता तथा कर्तव्यबोधको अपेक्षासहित गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं,” ज्ञापनपत्रमा भनिएको छ।

रास्वपा इलामका सभापति टीका ओडारीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखित विषयमा निरन्तर आवाज उठाउँदै आएको हुँदा यस ज्ञापनपत्रमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन तथा कानुन बमोजिम दोषी उपर कारबाहीको प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ। पार्टीले यस मुद्दालाई राष्ट्रिय सरोकारको विषयका रूपमा हेरेको र यसको समाधानका लागि दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार