इलाम : फाकफोकथुम गाउँपालिकास्थित तीनजुरे चिया कृषक सहकारी संस्था लिमिटेडले उत्पादन गर्ने अर्गानिक चिया अन्तर्राष्ट्रिय बजारमा चम्किन्दै गएको छ । सन् २०२२ मा पर्ल गोल्डेन ब्ल्याक टी का माध्यमबाट ‘ग्राण्ड गोल्ड मेडल’ जित्दै नेपालले चिया उत्पादनमा विश्व प्रसिद्ध मुलुकहरूलाई जित्न सफल भएपछि यहाँको चियाको माग बढ्न थालेको हो ।
२०५१ साल चैत्र १९ गते जम्मा ४६ जना किसानबाट सुरु भएको यो सहकारी अहिले २६० जना शेयर सदस्य छन्। पालिकाको २, ६ र ७ नम्बर वडामा ४१ हेक्टर क्षेत्रफलमा फैलिएको सहकारीले ३५ सय रोपनीमा अर्गानिक चिया खेती गर्दै आएको छ । नेपालमै चिया सम्बन्धी सबैभन्दा पुरानो सहकारीका रूपमा तीनजुरेले पछिल्लो समय अत्याधुनिक प्रशोधन उद्योगमार्फत उत्पादन गरिरहेको संस्थाका अध्यक्ष ऋतुकान्त खनालले बताए । सहकारीका अनुसार हालसम्म ११९ जना किसानले अन्तर्राष्ट्रिय अर्गानिक मापदण्ड पूरा गरी अर्गानिक हरियो पत्ती उत्पादन गरिरहेका छन्।
स्थानीय प्रशोधन, अन्तर्राष्ट्रिय निर्यात
२०७० साल जेठ ५ गतेदेखि संचालनमा आएको प्रशोधन उद्योगले पहिले फिदिम वा नेपालटार पठाउनुपर्ने पत्ती अब स्थानीयस्तरमै प्रशोधन गर्न थालेपछि किसानको लागत घट्नुका साथै समय र श्रमको बचत भएको छ।
प्रति दिन ५०० किलो हरियो पत्ती संकलन गरिन्छ र वार्षिक १३ हजार किलो भन्दा बढी चिया उत्पादन हुने गरेको छ। यहाँ उत्पादनको ५० प्रतिशत ग्रीन टि, ४० प्रतिशत गोल्डेन ब्ल्याक टि र १० प्रतिशत ग्रीननेस ब्ल्याक टि उत्पादन हुने गर्दछ । प्राप्त तथ्यांकअनुसार, यसमध्ये ३० प्रतिशत चिया भारत,अमेरिका, फ्रान्स, नेदरल्याण्ड हुँदै हाल जर्मनीले पनि खरिद गर्न माग गरेको छ । बाँकी ७० प्रतिशत नेपालकै इलाम, झापा, पोखरा र काठमाडौंमा बिक्री भइरहेको छ।
अन्तर्राष्ट्रिय सहयोग र स्थानीय लगानीसँगै रोजगारी
सहकारीले किसानलाई प्रतिकिलो हरियो पत्तीको मूल्य प्रति किलो एक सय ३० रुपैयाँ निर्धारण गरेको छ। गत वर्षको अडिट रिपोर्टअनुसार, सहकारीले १ करोड ८० लाख रुपैयाँको चिया बिक्री गरी ६० लाख रुपैयाँ नाफा कमाएको छ। उद्योगमार्फत हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जुन आवश्यकता अनुसार थप गर्न सकिने सम्भावना जनाएको छ ।
तीनजुरे सहकारीको दिगो विकासमा नेदरल्याण्डको मास कम्पनी, कमर्सियल एग्रीकल्चर एलायन्स, उन्नती परियोजना, र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड लगायतका संस्थाहरूको उल्लेखनीय योगदान रहँदै आएको छ।
संस्था स्थापना गर्न २४६ जना किसानबाट ९६ लाख संकलन गरी सहकारी संचालन गरिएको थियो । त्यसपछि नेदरल्याण्डको मास कम्पनीबाट भवन निर्माण र कार्यालय व्यवस्थापनका लागि १४ लाख रुपैयाँ, फाकफोकथुम गाउँपालिकाबाट पहिलो कार्यकालमा ७ लाख, कमर्सियल एग्रीकल्चर एलायन्सबाट १४ लाख, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मार्फत मेशिन अनुदान १० लाख, उन्नती परियोजनाबाट २८ लाख बराबरको मेशिन तथा स्तरोन्नति अनुदान उपलब्ध गराएको संस्थाका व्यवस्थापक पदम तामाङले जानकारी दिए । मास कम्पनीले स्वास्थ्य क्षेत्रमा काम गर्न हाल पनि वार्षिक ६ लाख रुपैयाँ सहयोग पुर्याउँदै आएको उनले बताए ।
चुनौतीका बाबजुद निरन्तर प्रगति
तीनजुरेले सफलताको शिखर चुमिरहँदा पनि विद्युत् आपूर्ति समस्या, सडकको दिगो अवस्था, डिजेल प्लान्टको महँगो सञ्चालन, र प्रशासनिक झन्झट अझै चुनौतीका रूपमा विद्यमान छन्। पाँचवटा प्रमाणिकरण निकायमा वर्षेनी २० लाख खर्च लाग्ने हुँदा कम्पनीले भने आर्थिक भार खेप्नु परेको गुनासो गरेको छ । नेपाल सरकारका कुनै निकायबाट हाल सहयोग नपाउँदा देशको उत्कृष्ट चिया उत्पादन गर्ने संस्थाहरुलाई निराशा पैदा भएको अध्यक्ष खनालको भनाइ छ । यद्यपि सहकारीका नेतृत्व र किसानको प्रतिबद्धता तथा गुणस्तरीय उत्पादनतर्फको केन्द्रित सोचले ती चुनौतीलाई अवसरमा बदल्न सकिएको छ।
स्थानीय सपना, विश्व पहिचान
तीनजुरे चिया कृषक सहकारी संस्था यात्रा केवल एउटा सहकारीको सफलताको कथा होइन, यो गाउँका साना किसानहरूको सामूहिक सपना, अर्गानिक कृषि उत्पादनको प्रतिबद्धता, र सामूहिक उद्यमशीलताको प्रतीक हो। गाउँको सपनाले विश्वका चर्चित मुलुकहरुले पनि यस संस्थाले उत्पादन गरेको चियाको स्वाद मन पराएका छन् । जहाँ कुनै दिन किसानले पत्ती बेच्न फिदिम र नेपालटार जानुपर्ने अवस्था थियो, आज त्यही गाउँबाट तयार चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री भइरहेको संस्थाका कारखाना व्यवस्थापक कृष्ण श्रेष्ठ बताउँछन् ।
तीनजुरेले देखाएको यो सफलताको मोडलले सावित गरेको छ कि नेपालजस्ता देशका ग्रामीण किसानले पनि अर्गानिक उत्पादन र सहकार्यका माध्यमबाट विश्वस्तरको पहिचान बनाउन सक्छन्।
तीनजुरे चिया गाउँबाट विश्व सामु परिचय कमाउन सफल हुनु यस फाकफोकथुम गाउँपालिकाको पनि गौरव मान्न सकिन्छ ।