इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य धमाधम अघि बढिरहेको छ। २ नम्बर वडास्थित कोल्बोटेमा २०७९ साल कात्तिक २७ गतेदेखि निर्माण सुरु गरिएको हो ।
करसहित १४ करोड ९९ लाख ७६ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माणाधीन अस्पताल १३ सय २० वर्गमिटर क्षेत्रफलमा दुईवटा साढे तीन तले ब्लक (ए र बी ब्लक) मा बन्दैछ। निर्माण कार्यको जिम्मेवारी डाँफे कन्स्ट्रक्सन प्रा.लि. ले लिएको हो।
हालसम्म बी ब्लकको संरचना (फ्रेम वर्क) सम्पन्न भइसकेको र जमिनको ढलान तथा इँटा लगाउने कार्य जारी रहेको सब-इन्जिनियर बम बहादुर राईले जानकारी दिए। ए ब्लकको पहिलो ढलान असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हालको निर्माण सम्झौता अनुसार अस्पतालमा लिफ्ट र र्यापसहितको संरचना बन्ने छ भने पार्किङ, लास घर, गार्ड हाउस, क्यान्टिन, प्रतीक्षालय र घेराबारसहितको मुख्य गेट समेत रहने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) यस अनुसार तयार गरिएको छ।
अस्पताल निर्माणका लागि ९ रोपनी ८ आनी जमिन तयार गरिएको हो । स्थानीय चौहान परिवारले ४ रोपनी जमिन निःशुल्क उपलब्ध गराएका छन् । अन्य थप जमिन स्थानीयबासी र यस वडाका जनप्रतिनिधिको सहयोगमा जुटाइएको २ नम्बरका अध्यक्ष यामबहादुर पौडेल खत्रीले जानकारी दिए । विभिन्न कारणले निर्माण कार्यमा ढिलाई भएको अस्पताल अहिले भने निरन्तर अगाडी बढेको र केही आशा जगाएको उनले बताए।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार, अस्पतालले गाउँपालिका भित्रका करिब २० हजार जनसंख्यालाई स्वास्थ्य सेवा सहज बनाउनेछ। सामान्य उपचारका लागि इलाम वा झापा जानुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ ।
हाल ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको ठेकेदार कम्पनीका इन्जिनियर सुरेश यादवले जानकारी दिएका छन्। गाउँपालिकाका प्राविधिक लक्ष्मी शर्मा र बम बहादुर राईको निगरानीमा र पालिकाको नियमित अनुगमन भइरहेको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार “एक स्थानीय तह, एक अस्पताल” अवधारणाअन्तर्गत निर्माण भइरहेको यो अस्पतालले दुर्गम बस्तीका नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने साथै ग्रामीण भेगका नागरिक लाभान्वित हुने विश्वास लिइएको छ।