नेपाल महिला संघमा विवाद चुलियो: इलाममा पुराना सदस्यहरूको बिद्रोह सुरु

  नयाँ बुलन्द
3.6k Shares

इलाम : नेपाल महिला संघ (नेमसंघ) मा पछिल्ला घटनाक्रमले आन्तरिक विवाद झनै चुलिएको छ। संघको तेस्रो अधिवेशन २०७२ सालमा सम्पन्न भएपछिको लामो समयसम्म नयाँ अधिवेशन नभए पनि २०८० सालमा केन्द्रीय समिति भंग गरी तदर्थ समिति गठन गरिएको थियो। तर, शीर्ष तहमा भएको सहमतिअनुसार जिल्लास्तरमा पुरानै अधिवेशनबाट निर्वाचित समितिहरू कायम राख्ने भनिए पनि इलामसहित ९ जिल्लामा नयाँ तदर्थ समिति गठन गरिएपछि विवादको सुरुवात भएको हो।

यस घटनाक्रमप्रति असहमति जनाउँदै केन्द्रीय समितिका २० जना सदस्यले आपत्ति जनाएपछि विवाद नेपाली कांग्रेसको केन्द्रीय समितिसम्म पुगेको थियो। त्यसपश्चात् पार्टीले केस डा. प्रकाश शरण महतको संयोजकत्वमा निर्वाचन निर्देशन समिति गठन गरी समस्या समाधानको जिम्मा दिएको थियो। यद्यपि पटक–पटक छलफल भए पनि इलाम र कास्की लगायतका जिल्लाहरूको विवाद अझै समाधान हुन सकेको छैन।

इलाममा समानान्तर समिति गठनको आरोप

इलाममा तेस्रो अधिवेशनबाट निर्वाचित सभापति निर्मला सञ्जेलले राजीनामा दिए पनि अन्य पदाधिकारी तथा सदस्यहरू क्रियाशील रहेको अवस्थामा शीर्ष तहको सहमतिअनुसार कार्यरतमध्ये वरिष्ठ पदाधिकारी सचिव बबिता लिङ्दम ‘कावा सभापति’ हुनु पर्ने बताइन्छ। तर, त्यसको सट्टा मनोमानी ढंगले नेमसंघसँग कुनै सम्बन्ध नभएका तथा सदस्यता नै नराखेका व्यक्तिहरूलाई समावेश गरी समानान्तर जिल्ला तदर्थ समिति, क्षेत्रीय समिति र पालिका समिति गठन गरिएको हो।

गोप्य रूपमा सदस्यता बाँडिएको आरोप

स्थानीय महिलाहरूका अनुसार, संघको पुराना सदस्यता नविकरण नगरिएको, नविकरणका फारमहरू नै वितरण नभएको, नयाँ सदस्यता गोप्य रूपमा सीमित आफन्तहरूमा मात्र बाँडिएको, र नेपाल महिला संघमा सक्रिय पुराना अधिकांश सदस्यहरूलाई कुनै जानकारी नदिई पार्टीकै एक गुटले संघ कब्जा गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिरहेको आरोप लगाइएको छ।

भञ्ज्याङमा बृहत महिला भेला र बिद्रोहको सुरुवात

यसैबीच, मंगलबार इलामको भञ्ज्याङमा भएको बृहत महिला भेलाले विवादमा नयाँ मोड ल्याएको छ। भेलामा सहभागी महिलाहरूले लामो समयदेखि संघमा योगदान गरेका सदस्यहरूको अपमान भएको भन्दै बिद्रोहको सुरुवात गरेका छन्। उनीहरूले औपचारिक कार्यक्रम देखाएर केही सीमित महिला बोलाई गुपचुप कोठे भेला गरी प्रतिनिधि तोकिएको, कार्यक्रम सकिएपछि सबैलाई घर पठाएर २/३ जनाले निर्णय लिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेमसंघका पुराना सदस्यहरू अहिलेको नेतृत्वविरुद्ध एकजुट हुँदै बिद्रोहको लहर सुरु गरिसकेका छन्। उनीहरूको माग छ— वर्तमान तदर्थ समिति तुरुन्तै भंग गरियोस्, सदस्यता नविकरणको प्रक्रिया खुला र पारदर्शी ढंगले सञ्चालन होस्, र लोकतान्त्रिक विधिबाट मात्र नयाँ नेतृत्व चयन गरियोस् नयाँ बुलन्द संग एक इलामकी अगुवा महिला नेत्रीले बताईन । यस्तै जिल्लाकै ठूलो वडा रहेको इलाम नगरपालिका वडा न ९ मा रिना कटुवालको अध्यक्षतामा समिति गठन गरिएको छ भने क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार