पाँचथर : कुम्मायक गाउँपालिका -५ मा अवस्थित गुह्येश्वरी आधारभूत विद्यालय, दुम्सीपोखरीका ३१ जना विद्यार्थीले स्कुल पोशाक प्राप्त गरेका छन्। विद्यालयमा स्थापना गरिएको तीन वटा अक्षयकोषको वार्षिक व्याजबाट पोशाक वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक भक्त बहादुर तामाङका अनुसार, कक्षा १ देखि ८ सम्म अध्ययनरत जेहेनदार र विपन्न विद्यार्थीलाई लक्षित गरी उक्त पोशाक वितरण गरिएको हो। पोशाक अन्तर्गत विद्यार्थीहरूलाई पेन्ट, सर्ट तथा फ्रक सिलाएर वितरण गरिएको उनले जानकारी दिए।
पोशाक वितरणका लागि आवश्यक रकम विद्यालयमा स्थापना गरिएका तीनवटा अक्षयकोषहरू स्वर्गीय अविमाया ढकाल स्मृति अक्षयकोष, स्वर्गीय रन्जीत तथा गंगादेवी भण्डारी स्मृति अक्षयकोष, र पाँचथर दोहा–कतार सम्पर्क मञ्चद्वारा स्थापना गरिएको अक्षयकोषबाट निकालिएको वार्षिक व्याजबाट जुटाइएको हो। उक्त तीन अक्षयकोषमा जम्मा १ लाख १४ हजार ६ सय रुपैयाँ रहेको र त्यसको वार्षिक व्याज २२ हजार ६१० रुपैयाँ रहेको छ।
त्यसैगरी, विद्यालयमा स्थापना गरिएको अर्को अक्षयकोष स्वर्गीय गोमादेवी भण्डारी स्मृति अक्षयकोषको रु. ३० हजार ५६५ को व्याजबाट बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिएको हो। उक्त अक्षयकोषका दाता प्रविण भण्डारीले आफ्नी आमाको सम्झनामा कोष स्थापना गरेका हुन्।
वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले कार्यक्रमका विशिष्ट अतिथि वडा सदस्य इन्द्रप्रसाद चेम्जोङसमक्ष विद्यालयको घेराबार, संरचना तथा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोगको माग गरेका थिए।
स्थानीय समुदाय, देश प्रदेशका नेपाली तथा समाजसेवीहरूको सहयोगमा सञ्चालन भइरहेका यस्ता अक्षयकोषले ग्रामीण भेगका विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पारिरहेको विद्यालय प्रशासनले जनाएको छ।