५० प्रतिशत प्रगति: फाल्गुनन्द गाउँपालिकाको प्रशासकीय भवन निर्माण तीव्र गतिमा

  युद्धबहादुर बोहोरा
392 Shares

 पाँचथर : फाल्गुनन्द गाउँपालिकाको बहुप्रतीक्षित नयाँ प्रशासकीय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पालिकाको ५ नम्बर वडा फाक्तेपस्थित फुङ्लेङ टोलमा निर्माण भइरहेको  साढे दुई तले आधुनिक सुविधासम्पन्न भवन हालसम्म ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

स्थानीयहरूबीच स्थानको विषयमा लामो समयसम्म सहमति नहुँदा अड्किएको भवनको निर्माण अन्ततः गत असोज ९ गते औपचारिक रुपमा सुरु गरिएको थियो। गाउँपालिकाका प्रमुख बृजहाङ आङ्देम्बे र उपप्रमुख ठाकुरसिं नेम्वाङको उपस्थितिमा शिलान्यास गरिएको यो योजना संघीय सरकार र पालिकाको साझेदारीमा अघि बढिरहेको छ।  २०८२ चैत्र ११ गतेसम्ममा भवन निर्माण समपन्न गर्ने गरी सम्झौता भएको छ । अबको केन्द्र फुङ्लेङ टोललाई सम्भावनाको प्रतीक मानिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत देवी तुम्वापो बताउँछन् ।

उक्त भवन ९ करोड ७२ लाखको लागत अनुमान गरिएको भएता पनि योजनाको ठेक्का काठमाडौँस्थित “साबिरा माङ्मालुङ जेभी” कम्पनीले रु. ७ करोड २९ लाख ८० हजार २७२ रुपैयाँ ९२ पैसामा पाएको हो। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सम्झौता गरिएको संरचना समयमै सम्पन्न हुने गरी हाल धमाधम काम भइरहेको छ ।

पालिकाको संरचना निर्माण गर्न स्थानीयवासीहरूले गाउँपालिकालाई करिब ४५ रोपनी जमिन उपलव्ध गराएका छन्, जसमा ९ रोपनी क्षेत्रभित्र मुख्य भवन निर्माण भइरहेको छ भने ६ रोपनीमा प्रशासनिक कार्यालय र सहायक संरचनाहरू निर्माण हुनेछन्। हालसम्म आरसीसी फ्रेम संरचना, पिल्लर र ढलान कार्य सम्पन्न भइसकेका छन् ।

सुविधा सम्पन्न र समावेशी डिजाइनमा  संरचना निर्माण भइरहेको छ, जसमा लिफ्ट, बालमैत्री तथा अपाङ्गमैत्री पहुँच, स्तनपान कक्ष, प्रतिक्षालय, शुद्ध खानेपानी ट्याङ्की तथा धारा, शौचालय, इन्टरलॉक ब्लकमार्फत कारपार्किङ, बगैँचा र घेराबाराको व्यवस्था गरिनेछ। साथै टपमा ट्रष्टको छाना लगाइने छ ।

यस पालिकाका स्थानियको आशा र गौरवको केन्द्र बन्ने लक्ष्य राखिएको छ । १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको तपोभूमी र समाधिस्थल रहेको यो गाउँपालिकाको नाम समेत उहाँकै नामबाट राखिएको हो। नयाँ भवन परिसरमा महागुरुको शालिक पनि राखिनेछ। यसले स्थानीय पहिचान र सांस्कृतिक गौरवलाई झन प्रगाढ बनाउने अपेक्षा गरिएको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए ।

गाउँपालिकाको प्राविधिक टोली, निर्माण कम्पनी तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा निर्माण कार्य भइरहेको पालिकाका सव इन्जिनियर ऋषिकेश तुम्रोकले जानकारी दिए । छानाको काम सुरु हुने चरणमा छ । हाल भित्री भागमा प्लास्टर र इट्टा जोड्ने कार्य भइरहको छ भने अन्य निर्माणको बाँकी कार्यहरू विद्युत् जडान, प्लास्टर तथा फिनिशिङ, ढल तथा खानेपानी व्यवस्थापन, इन्टेरियर डिजाइनका काम लगातार गरिने उनले बताए ।

यदि, हालको गति यथावत् रह्यो भने निर्माण कार्य सम्झौताको समय अवधिमा सम्पन्न हुने प्रबल सम्भावना देखिन्छ। प्राविधिक निगरानीमा निर्माण कार्य भइरहेको प्रशासकिय भवन फाल्गुनन्द गाउँपालिकावासीका लागि  प्रशासनिक सेवा प्रवाहको केन्द्र मात्र नभई,  नागरिकलाई गाउँमा सिंहदरवारको अनुभुती र समावेशी विकासको पनि प्रतीक बन्नेछ पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार