पाँचथर : पाँचथरका सञ्चारकर्मीहरूलाई लक्षित गर्दै तीनदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम शनिवार सम्पन्न भएको छ। सञ्चार माध्यममा एआई प्रविधिको प्रयोग र पत्रकारितामा यसको प्रभावबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष भीमकुमार बाँस्कोटाले बताए ।
महासंघ शाखाको फिदिमस्थित सभाहलमा आयोजित तालिममा जिल्ला र अन्य जिल्लाक विभिन्न मिडियामा कार्यरत क्रियाशील ४१ जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई एआईको परिचय, पत्रकारितामा प्रयोग गर्न सकिने एआई उपकरणहरूबाट सामग्री सिर्जना, तथ्य जाँच, अनुवाद, तथा अनुसन्धानका लागि एआईको उपयोगबारे जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रशिक्षक तथा डिजिटल सञ्चारकर्मी जीवन भण्डारीले सहजीकरण गरेका थिए । वर्तमान समयमा पत्रकारितामा एआई एक अपरिहार्य उपकरण बन्दै गएको एआईसँग सम्बन्धित नैतिकता, तथ्यपरकता र स्रोतको शुद्धताका विषयमा समेत सहभागीहरूलाई जानकारी दिइयो । एआईको दुरुपयोगले हुने जोखिम, चुनौती र समाधानका उपायहरुका बारेका पनि सचेत गराएका थिए । नयाँ प्रविधिमा जोडिन यस तालिमले सहयता पुगेको सहभागी राजकुमार इसारा र रजनी हाङ्सरुम्बाले बताए । तालिमबाट सहभागी पत्रकारहरू लाभान्वित भएको साथै यसको उपयोग गर्न भने थप अभ्यास गर्नुपर्ने अनुभव सुनाए ।
तालिम समापनमा प्रमुख अतिथि फिदिम नगरपालिका मेयर मित्रप्रसाद काफ्ले, विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लवदेव ढुंगाना, निवर्तमान शाखा अध्यक्ष गिरिराज बाँस्कोटालगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै शुभकामना मन्तव्य राखे । कार्यक्रममा अतिथि काफ्लेले एआई तालिमले पत्रकारहरूलाई नयाँ प्रविधिसँग साक्षर बनाउने विश्वास व्यक्त गरे। आगामी दिनमा जिल्लाका पत्रकारलाई आवश्यक पर्ने विभिन्न तालिमको आयोजना गर्न पहल गरिने केन्द्रिय सदस्य ढुंगानाको भनाइ छ ।
महासंघ पाँचथर शाखाको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश विराटनगरको आर्थिक सहयोगमा संचालन गरिएको तालिमको समापनमा उपाध्यक्षद्वय राधा लुइटेलले स्वागत र सरोज शर्माले संचालन गरेका हुन् ।