पाँचथर : फाल्गुनन्द गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता बुधबार उद्घाटन भएको छ ।
७ नम्बर वडाको पिपलबोटेस्थित ज्योति माविको खेलमैदानमा वडास्तरीय प्रतियोगिता पालिका अध्यक्ष वृजहाङ आङ्देम्वेबाट उद्घाटन गरिएको हो ।
खेलकुद क्षेत्रको विकासलाई प्रोत्साहन गर्दै पालिकाको आफ्नो लगानीमा खेलाडी उत्पादन गर्न र गाउँपालिका स्तरीय खेलाडी छनौट गर्ने उदेश्यले वडास्तरीय खेल संचालन गरिएको खेल उद्घाटनमा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष ठाकुर सिंह नेम्वाङले जानकारी दिए ।
विगत वर्षमा जिल्लाका आठ स्थानीयतहबाट आमन्त्रित अन्तरपालिका स्तरीय प्रतियोगिता संचालन हुने गरेको थियो भने यस वर्षदेखि पालिका भित्रका खेलाडी मात्रै सहभागी हुने नियम लागू गरिएको प्रमुख प्रशासकिय अधिकृत देवी तुम्वापोले बताए ।
उद्घाटनको पहिलो खेल ४ नम्बर वडा चिलिङदिन र ७ नम्बर वडा पिपलबोटे बीच भएको प्रतिस्पर्धामा २-० को सोझो सेटमा पिपलबोटेलाई हराउँदै चिलिङदिन सेमीफाइनलमा प्रवेश गर्यो । दोश्रो खेल ६ नम्वर वडा मेहेलबोटे र ३ नम्बर वडा पौवासारताप बीचको खेलमा २-० को सोझो सेटमा पौवासारतापलाई पराजित गर्दै मेहेलबोटे सेमीफानलमा पुग्यो भने तेस्रो खेल ५ नम्बर वडा फाक्तेपसँग १ नम्बर वडा नवमीडाँडाको आमनेसामने भएको थियो । उक्त खेलमा पनि अघिल्ला खेलको जस्तै परिणाम २-० को सोझो सेटमा फाक्तेपले नवमीडाँडालाई पछि पार्दै सेमीफाइनलमा प्रवेश गर्यो ।
पहिलो सेमीफाइनलको एउटा खेलसमेत आज भएको छ । यस खेलमा ४ नम्बर वडा चिलिङदिन र ६ नम्वर वडा मेहेलबोटे बीच वेष्ट अप फाइभको खेलमा ३-१ को सेटमा चिलिङदिनलाई हराउँदै मेहेलबोटे फाइनलमा प्रवेश गरेको खेल संयोजक दिपेश आङ्देम्बेले जानकारी दिए । विहिवार दोस्रो सेमीफाइनल खेल ५ नम्बर वडा फाक्तेप र २ नम्बर वडा इम्बुङ बीचको नतिजा पश्चात् प्रतियोगिताको फाइनल खेल पनि भोली नै सम्पन्न गरिने भएको छ ।
विजेता टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रोले ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रसहित दोस्रो उपाधि हात पार्ने छ। साथै प्रत्येक विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । खेलाडी व्यवस्थापन वापत सवै वडाको टिमलाई १० हजार नगद उपलब्ध गराइने र सेमीफाइनलमा पुगेका टिमलाई थप पाँच हजार प्रदान गरिने जनाइएको छ । जेठ २८ देखि संचालन भइ २९ गते सम्पन्न हुने उक्त खेललाई खेलकुद टाईम्स डटकमको आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिरहेको खेल सह-संयोजक दर्पण अधिकारीले बताए ।