टेलिभिजनमा समस्या उठेपछि महमाई आधारभूत बिद्यालयका विद्यार्थीले पाए पुस्तक

  नयाँ बुलन्द
511 Shares

भञ्ज्याङ् : इलाम नगरपालिका-९ को महमाई आधारभूत विद्यालयका विद्यार्थीहरूले पुस्तक पाएका छन्। सरकारले दिने निशुल्क पुस्तक समयमा नै पाएपनी  अंग्रेजी माध्यमबाट पढाइ हुने भएपछि निःशुल्क प्राप्त नहुने (अतिरिक्त पुस्तक) नपाउँदा आर्थिक अवस्था कमजोर भएका शिशु कक्षा देखि ५ कक्षा सम्मका १६ जना विद्यार्थी पुस्तक पाउनबाट वञ्चित थिए।

मंगलबार इलाम नगरपालिकामा भएको एक टेलिभिजन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र चौहानले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले पुस्तक नपाएको समस्यालाई उजागर गरेका थिए। इलाम नगरपालिका-९ कै युवा समाजसेवी राजीव न्यौपानेले सो कार्यक्रम प्रसारण भएपछि उक्त समस्याबारे जानकारी पाए।
जानकारी पाउनेबित्तिकै न्यौपानेले ती विद्यार्थीका लागि आवश्यक पुस्तकको रकम तिरिदिए। यसरी बुधबार नै विद्यार्थीहरूले विद्यालयबाट पुस्तकहरू प्राप्त गरेका छन्। समाजसेवी न्यौपानेले “शिक्षाबाट कोही वञ्चित नहोस्, आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नपाउने वातावरण नबनोस्” भन्ने उद्देश्यले आफूले सानो सहयोग गरेको बताए।

यता बिद्यालय ब्यब्स्थापन समितिका अध्यक्ष चौहानले बृहत अभिभावक भेला गरेर न्यौपानेले उपलब्ध गराएको पुस्तक बितरण गरेको बताए । उनले पुस्तक उपलब्ध गराउने न्यौपानेलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताएका छन ।

न्यौपानेको यो सहयोगले आर्थिक अभावका कारण पढाइमा अवरोध भोगिरहेका विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार