‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बोहोरालाई

रु १० हजार राशीको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ ग्रहण गर्दै इलामका पत्रकार युद्धबहादुर बोहोरा र हस्तान्तरण गर्दै फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल ।

इलाम : यस वर्षको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार युद्धबहादुर बोहोरा पुरस्कृत भएका छन् ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलाद्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘नयाँ बुलन्द डटकम’ ले स्थापना गरेको रु १० हजार राशीको पुरस्कारबाट आज (आइतबार) बोहोरा पुरस्कृत भएका हुन् ।  ‘नयाँ बुलन्द डटकम’ ले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकामा कार्यक्रम आयोजना गरी पत्रकार बोहोरालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत पत्रकार बोहोरालाई फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राईलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे । वि.स. २०७० सालमा स्थानीय रेडियो रविबाट पत्रकारितामा क्रियाशील हुनुभएका बोहोरा हाल काठमाडौंको शिलापत्र डटकम र झापाको पूर्वाञ्चल दैनिकमा आवद्ध छन् ।

‘नयाँ बुलन्द डटकम’ ले सो पुरस्कार हरेक वर्ष वार्षिक उत्सवको अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकार प्रकाश नेपाल पुरस्कृत भइसकेका छन् ।

‘नयाँ बुलन्द डटकम’ तीन वर्षअघि ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार कोष’ खडा गरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट अनलाइन सञ्चारमाध्यममा आवद्ध एक जना पत्रकारलाई बर्सेनि पुरस्कार वितरण गर्ने गरिएको  फोनिज सम्पादक राम योङहाङले बताए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार