विराटनगर — बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै विराटनगर महानगरपालिकाले महानगरका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरू विद्यालयमा पुगेर नियमित पठनपाठन गर्न नसक्ने अवस्था सिर्जना भएको अभिभावकहरूको गुनासोपछि यो निर्णय लिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जनाए । उनका अनुसार वर्षा भएर पठनपाठनका लागि अनुकुल वातावरण सिर्जना भएपछि मात्र विद्यालयहरू पुनः सञ्चालन गरिनेछ । उनले भने, ‘गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने सम्भावना देखिएकाले यो निर्णय लिनुपरेको हो ।’
विराटनगर मात्र नभएर कोशी प्रदेशका अन्य स्थानीय तहहरूले पनि समान निर्णय गरेका छन् । इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकासहित कोशीका तराई क्षेत्रका धेरै स्थानीय तहले विद्यालयहरू बन्द गर्ने निर्णय गरिसकेका छन् ।
महानगरपालिकाले अभिभावकलाई बालबालिकाको स्वास्थ्यको विशेष ख्याल राख्न र घरमै बसेर अध्ययन गर्न आग्रहसमेत गरेको छ ।