पाँचथर : विद्यार्थीमा कृषि ज्ञान विस्तार गर्ने उद्देश्यले जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ ७ टारीमा कृषि शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र पाँचथरको आयोजनामा एक दिवसीय कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत ३६ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई कृषिको महत्व, आधुनिक कृषि प्रविधि र फलफूल, तरकारी खेती तथा विभिन्न प्रकारका विषादी साथै यसका असर लगायत कृषि शिक्षा विषयमा जानकारी गराइएको थियो ।
आयोजक संस्थाका बागबानी विकास अधिकृत केदार धिताल र हिलिहाङ गाउँपालिका कृषि विकास शाखाका नायव प्राविधिक सहायक किशोर रिजालले सहजीकरण गरेको शिक्षक तिलोचन भट्टराईले जानकारी दिए । कृषि सम्बन्धीको शिक्षाले सहभागी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्राप्त भएको महसुस गरेका छन् । आम विद्यार्थी ग्रामीण भेगका किसान परिवारकै छोराछोरी भएकै कारण सिकाईमा चासो र उपलब्धी मुलक रहेको उनीहरु बताउँछन् ।
व्यवहारिक शिक्षा सबैलाई अपरिहार्य रहेकोले विद्यालय परिवारबाट कार्यक्रमको सकारात्मक मूल्याङ्कन गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा समेत गरिएको जनाइएको छ ।