
इलाम : हरेक वर्ष वर्षायाममा मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध हुँदा इलामको जनजीवन अस्तव्यस्त हुन्छ । यस वर्ष पनि यो समस्या दोहोरिने निश्चितप्रायः देखिएको छ, किनकि राजदुवाली खण्डको विकल्पका रूपमा निर्माणाधीन दुई महत्त्वपूर्ण सडकहरू – सिमलगोलाई–तिल्केनी सडक र केचना–कन्चनजङ्घा (मेची करिडोर) सडकको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ । यसले गर्दा यी सडकहरू तत्काल सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगेका छन्, जसको प्रत्यक्ष असर इलामको समग्र विकास र जनजीवनमा पर्नेछ ।
निर्माणमा ढिलासुस्ती
सडक डिभिजन कार्यालय, इलामका प्रमुख पवन भट्टराईले जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा वैकल्पिक सडकहरूको दयनीय अवस्थाबारे विस्तृत जानकारी गराएका छन । उनका अनुसार, दुवै सडकको बीचमा पर्ने खोलाहरूमा बेलीब्रिज निर्माण कार्य द्रुत गतिमा भएतापनि सडक निर्माण भने कछुवा गतिमा छ । सिमलगोलाई खण्डमा ढिलो ठेक्का लागेको एउटा पाटो भए पनि जुन रूपमा कामको प्रगति देखिनुपर्ने हो, त्यो अनुरुप प्रगति हुन सकेको छैन । यो अवस्थाले वर्षा सुरु भएसँगै मेची राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गर्न नसकिने स्पष्ट पारेको छ ।
त्यस्तै, मेची करिडोर सडकको काम अत्यन्त सुस्त रहेको र पटकपटक निर्माण व्यवसायीहरूलाई पत्राचार गरी कामको गति बढाउन भनिएपनि कार्यान्वयन नगरिएको प्रमुख भट्टराईले बताए । उनले सडक समयमानै निमार्ण सम्पन्न गर्ने बाताबरण तयार गर्नका लागि समन्वयका लागि सम्बन्धित सरोकारवालाहरूलाई समेत अनुरोध गरे । वर्षायामअघि वैकल्पिक सडकहरू तयार नहुँदा इलामले विगतमा भोगेका समस्याहरू यस वर्ष पनि दोहोरिने निश्चित भएको उनको भनाइ छ ।
राजनीतिक दलहरूको चासो र प्रतिबद्धता
बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले काम नगर्ने निर्माण व्यवसायीहरूलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै आ–आफ्नो पार्टीका तर्फबाट निर्माण कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यद्यपि, वर्षामा समस्या आउँदा वैकल्पिक सडकको चासो तीव्र हुने तर अन्य बेला यो सेलाउँदै जाने प्रवृत्तिले पनि निर्माण कार्यमा ढिलासुस्ती हुने गरेको यथार्थलाई कसैले पनि नकार्न सक्दैनन्।
सडक पूर्वाधारको अभावले इलामको आर्थिक, सामाजिक र शैक्षिक विकासमा प्रत्यक्ष नकारात्मक असर परिरहेको छ । यातायातको सहज पहुँच नहुँदा यहाँको मुख्य आम्दानीको स्रोत मानिने कृषि उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा किसानहरूले ठूलो नोक्सानी बेहोर्नु परेको छ । पर्यटकको आगमनमा कमी आउँदा पर्यटन व्यवसाय प्रभावित भएको छ, जसले स्थानीय अर्थतन्त्रमा थप चुनौती थपेको छ ।
आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सुविधामा समेत कठिनाई हुने गरेको छ । बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा वा औषधि अभाव हुँदा ज्यान जोखिममा पर्ने अवस्था समेत सिर्जना हुने गरेको छ । शैक्षिक संस्थामा सामग्री पुर्याउन र विद्यार्थीको आवागमनमा समेत समस्या हुने गरेको छ । यदि यी वैकल्पिक सडकहरू समयमै सञ्चालनमा आउन सकेनन् भने इलामको भाग्य र भविष्य थप धरापमा पर्न सक्ने भन्दै स्थानीय बासिन्दा र सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन ्। निर्माण कार्यमा तीव्रता ल्याउन र वर्षायामअघि नै केही हदसम्म भए पनि सडक सञ्चालनमा ल्याउनका लागि अब तत्कालै सशक्त कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।
निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाउने, नियमित अनुगमन गर्ने, र आवश्यक परेमा वैकल्पिक उपायहरू अवलम्बन गर्ने जस्ता कार्यहरूमा सडक डिभिजन कार्यालय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच बलियो समन्वय हुन जरुरी छ । अन्यथा, इलामले हरेक वर्ष भोग्दै आएको यातायात समस्याको दुष्चक्रबाट मुक्ति पाउन अझै धेरै कुर्नुपर्नेछ ।
करिडोरको इलाम -झापा चार प्याकेजमा काम
यो सडकको इलाम सदरमुकाम देखि झापाको ब्यापारीक केन्द्र बिर्तामोड जोड्न अहिले ४ प्याकेजमा काम भइरहेको सडक डिभिजन इलामले जानकारी दिएको छ । जस अन्र्तगत इलामको भञ्जयाङ्ख देखि पुवाखोला, राकसे हुदै बेलासे माइखोलासम्म एउटा पयाकेज रहेको छ भने बेलासे माइखोला देखि चिसापानी, सोमबारे सोक्तिम हुदै लोदीया सम्ममा तिन प्याकेजमा काम बिभाजान गरि काम भइरहेको छ ।
मेची राजमार्गको भञ्ज्याङदेखि बेलासेसम्मको पहिले खण्ड ९.४ किलोमिटरको ठेक्का २७ करोड २१ लाख मा लिएर खड्का कृष्ण सक्षम जेभीले गरिरहेको छ ।
यस्तै दास्रो प्याकेज अन्तर्गत बेलासेदेखि सोमबारेसम्ममा डेढ समय मिटर ढलान र बिभिन्न स्थानमा टेवा पर्खाल लगाउने गरी २ करोड ६ लाख रुपैयाँमा ठेक्का लिएको धुलिखेल माईस्थान जेभिले पनि काम अन्तिम चरणमा पुरर्याएको कार्यालयले जनाएको छ । उता तेस्रो प्याकेज अन्तर्गत धुलिखेल आले जेभिले कालोपत्र्रे गर्नेगरी ६ करोड ३६ लाखमा २०७९ सालमा ठेक्का सम्झौता गरि थालेको थियो । यस्तै चौथो प्याकेजको रुपमा सोक्तिम लोदिया बिचमा पहिरो रोक्थामका लागि सडक कार्यालयले नै टेवा पर्खाल लगाउने काम गरिरहेको कार्यालयका सुचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए ।
उता बैकल्पिक मार्गको रुपमा लिइएको सिमलगोलाई तिल्केनी सडकमा भने पुर्वाञ्चल नेपाल सिंह जेभिले काम गरिरहेको घिमिरेले जानकारी दिए ।
काम गर्न छैन बजेटको समस्या
यता रकम अभावमा काममा ढिलाई भएको गुसानो बाहिर आइरहेको भएपनि हल्ला जस्तो आएपनि त्यो अनुरुप नरहेकोे कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिए । कामको प्रगती अनुरुप हामीले माथिल्लो निकायमा बजेट माग गरे पाउने अवस्था छ यसैले निमार्ण ब्यबसायीले काम गरेको रकम ढुक्क साथ पाउनुहुनेछ, भट्टराईले भने ।
























































