इलाम नगरको सिँचाइ योजनाहरूले बाझो जमिन हराबरा बनाउदै

  नयाँ बुलन्द
98 Shares

इलाम : इलाम नगरपालिकाका ग्रामीण भेगमा सञ्चालन भएका साना सिँचाइ योजनाहरूले स्थानीय कृषकहरूको जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याएको छ । वर्षामा आधारित खेती प्रणालीमा निर्भर रहेका किसानहरूले अहिले वर्षभरि सिँचाइ सुविधा पाएपछि अन्नबाली र तरकारी उत्पादनमा वृद्धि भएको अनुभव गरेका छन् । साना सिँचाई कार्यक्रमअन्तर्गत स्विस सरकार, सङ्घीय सरकार, कोसी प्रदेश र इलाम नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएका सिँचाई आयोजनाहरुले इलाममा बाँझो जग्गालाई समेत उपयोगमा ल्याउन मद्दत पुर्‍याएको छ । परम्परागत रूपमा आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरूले सिचाइ सुविधा पाएपछि धान, गहुँ, मकै जस्ता मुख्य बालीका साथै नगदे बालीको उत्पादन पनि बढाएका छन । यसले उनीहरूको आयस्रोतमा वृद्धि भएको छ र आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।

इलाम नगरपालिकाले साना सिचाइ कार्यक्रम मार्फत करोडौंको लगानीमा गत आर्थिक बर्षसम्ममा नगरभरी २८ वटा योजनाहरु सम्पन्न गरिसकेको छ भने चालू आर्थिक बर्षमा ८ वटा योजना सम्पन्नको चरणमा रहेको इलाम नगरपालिकाका सबइन्जिनियर तथा साना सिचाइ आयोजना कार्यक्रमका फोकल पर्सन बासुदेव पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो, “ स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकारको २० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत, स्थानीय सरकारको २० प्रतिशत र सम्बन्धित उपभोत्ताको १० प्रतिशत लागत सहभागिता गरी आयोजनाको काम गरिदै छ । ”

यता किसान समेत गाउँमा सिचाइ योजना आएपछि अहिले तीन बालीसम्म लगाउन सकिएको भन्दै खुसी भएका छन् । उत्पादन बढेपछि घरखर्च चलाउन र छोराछोरीलाई पढाउन पनि सजिलो भएको उनिहरुको भनाई छ ।

इलाम नगरपालिका-५ का किसान घनेन्द्र श्रेष्ठले भन्नुभयो, “पहिला पानी नहुँदा एक बाली पनि राम्ररी लगाउन गाह्रो हुन्थ्यो । तर, गाउँमा सिचाइ योजना आएपछि अहिले तीन बालीसम्म लगाउन सकिएको छ । उत्पादन बढेपछि घरखर्च चलाउन र छोराछोरीलाई पढाउन पनि सजिलो भएको छ ।”

त्यसैगरी, इलमा नगरपालिका-१ की कृषक देबी माया खातीले सिचाइ सुविधाले तरकारी खेती गर्न सहज भएको बताउनुभयो । “सिचाइ नहुँदा तरकारी सुकेर जान्थ्यो, धेरै नोक्सान हुन्थ्यो । अहिले प्लास्टिक टनेल बनाएर वर्षभरि तरकारी फलाउन पाएका छौँ,“ उहाँले खुसी व्यक्त गर्दै धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

उता साना सिचाइ आयोजना फिक्कल क्लस्टरका प्रमुख केशव लामाले इलाम र पाँचथर जिल्लामा १४ वटा स्थानियतहरु काम गरिरहेको बताउनुभयो । लामाले जसअन्तर्गत २८४ बटा सम्पन्न भएको र चालु आर्थिक बर्षमा ११३ बटा योजनाहरु सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।

यो योजनाहरू ग्रामीण क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ । साना किसानहरूलाई लक्षित गरी यस्ता योजनाहरूलाई प्राथमिकता दिएकाले यसले कृषि उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न र समग्र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत पुग्ने समेत बिश्वास राखिएको छ यद्यपि, कतिपय स्थानमा सिचाइ कुलोको मर्मत सम्भार र पानीको व्यवस्थापनमा समेत चुनौतीहरू देखिएका छन ्। स्थानीय समुदाय र सम्बन्धित निकायले समन्वय गरी यी समस्याहरूको समाधान गरे अझ सहज हुने देखिएको छ ।

समग्रमा, इलाम नगपालिकामा सञ्चालित साना सिचाइ योजनाहरूले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ । यसले किसानहरूको जीवनस्तर सुधार गर्नुका साथै ग्रामीण भेगको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । यस्ता योजनाहरूलाई थप विस्तार र प्रभावकारी बनाउन सकेमा कृषि क्षेत्र अझ फस्टाउने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार