इलाममा उपभोक्ता अधिकार र आधुनिक किचन उपकरण सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सुरु 

  नयाँ बुलन्द
168 Shares

इलाम : “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ इलाममा होटल व्यवसायीहरुका लागि उपभोक्ता अधिकार र आधुनिक किचन उपकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना र होटल व्यवसायी संघ इलामको समन्वयमा आयोजित दुई दिवसीय रहेको हो । सदरमुकाम स्थित सिटी मार्केटमा रहेको होटल रेड रोजमा सञ्चालित कार्यक्रममा इलामका विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन उपभोक्ता संरक्षण ऐन र यस अन्तर्गत होटल व्यवसायीहरुको दायित्व, खाद्य स्वच्छता, गुणस्तर कायम गर्ने मापदण्ड लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका प्रवक्ता नुतन देव दुलालले उपभोक्ताको अधिकारलाई उच्च प्राथमिकता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो। उनले उपभोक्ताको सन्तुष्टि नै व्यवसायको सफलताको आधार भएको बताउँदै इलाम नगरपालिका व्यवसायीहरुको प्रवर्द्धन र क्षमता विकासका लागि सदैव तत्पर रहेको बताए।यस्तै कार्यक्रमा होटल व्यवसायमा प्रयोग हुने आधुनिक किचन उपकरणहरुको परिचय र प्रयोग विधिमा समेत जानकारी गराईएको थियो भने विभिन्न विज्ञ प्रशिक्षकहरुले सहभागी व्यवसायीहरुलाई आधुनिक उपकरणहरुको संचालन, मर्मत सम्भार र त्यसबाट व्यवसायमा प्राप्त हुने लाभका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा विभिन्न प्रकारका व्यावसायिक किचन उपकरणहरुको प्रदर्शनी समेत गरिएको थियो।

होटल व्यवसायी संघ इलामका अध्यक्ष देबि पौडेलले यस्तो जानकारीमूलक कार्यक्रम आयोजना गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय इलामलाई धन्यवाद ज्ञापन गरे। उनले यस कार्यक्रमबाट इलामका होटल व्यवसायीहरुले आफ्नो सेवाको गुणस्तर अभिवृद्धि गर्न र उपभोक्ताको अधिकारप्रति थप सजग हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख एकनाथ दाहालले आगामी दिनमा पनि व्यवसायीहरुको हितलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरु आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे। उनले इलामको पर्यटन विकासमा होटल व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिए।

दुई दिनसम्म चल्ने यो अभिमुखीकरण कार्यक्रम इलामका होटल व्यवसायीहरुका लागि अत्यन्तै उपयोगी र फलदायी रहने सहभागीहरुले बताएका छन्। कार्यक्रमले उपभोक्ता अधिकार र आधुनिक प्रविधिको प्रयोगबारे ज्ञान हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार